विलासिताका वस्तु कम भित्रिँदा भैरहवामा राजस्व संकलन आधा घट्यो

विलासिताका वस्तु कम भित्रिँदा भैरहवामा राजस्व संकलन आधा घट्यो

बुटवल : भैरहवा भन्सार कार्यालय, बेलहियाले आर्थिक वर्ष ०७९/८० मा लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन।

आर्थिक वर्ष ०७९/०८० मा विभागले निर्धारण गरेको १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य भए पनि जम्मा ७७ अर्ब रुपैयाँ मात्र अथार्त् झण्डै ५० प्रतिशत राजस्व असुली भएको हो। 

राजश्व संकलनमा योगदान दिने मुख्य वस्तु आयात नै न्यून हुँदा आर्थिक वर्ष ०७९/०८० मा भैरहवा भन्सार कार्यालयको राजश्व संलकनमा ह्वात्तै गिरावट आएको भन्सार कार्यालयले जनाएको छ।

आब ०७८/०७९ मा १ खर्ब २७ अर्ब लक्ष्य पाएको भन्सारले १ खर्ब १५ अर्ब ८७ करोड राजश्वस संकलन गरेको थियो। विगतमै राजश्व संकलन लक्ष्य भेट्टाउन नसकेको भन्सारलाई विभागले पुनः २२ प्रतिशत बढी लक्ष्य बढाइदिएको थियो। तर, राजश्व लक्ष्यको आधा पनि संकलन हुन नसकेको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले बताए।

उनले विगतमा राजश्व संकलनमा मुख्य योगदान दिँदै आएका जीप, कार, भ्यान, मोटरसाइकल, एमएस बिलेट्, जिडेल, मोबाइलजस्ता मुख्य बस्तु आयात आधाले घट्दा पनि राजश्व संकलनमा असर पुगेको बताए। 

यस्तै, राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा केही समय एलसी अनिवार्य गर्यो र यसले राजश्व संकलन प्रभावित बनेको उनको भनाइ छ। साथै ८ महिनासम्म सरकारले जीप, कार, भ्यान र मोबाइल आयातमा प्रतिबन्ध नै लगाएको थियो।

त्यसका असर पनि राजश्व संकलनमा परेको छ। कार्यालय प्रमुख अर्यालका अनुसार यी वस्तुले मात्रै भन्सार राजश्वमा करिब २५ प्रतिशत योगदान दिँदै आएका छन्। 

सरकारले राजश्वमा खर्बले योगदान दिने फलामे कच्चा पदार्थ एमएस बिलेट्समा अन्तःशुल्क बढाएर लगाउनु र स्पन्ज आइरनमा भन्सार महसुल पूर्ण छुट गर्दा पनि राजश्व प्रभावित भएको छ। 

भन्सारको तथ्यांकअनुसार राजश्व संकलनमा योगदान दिने मुख्य बस्तु जीप, कार, भ्यानसँगै मोटरसाइकल, ग्लेज टायल, हाइस्पिड डिजेल, इलेक्ट्रिक जिप, कार, भ्यान, मार्बल स्ल्याब, एलपी ग्यास, मोबाइल, पिकअप तथा डेलिभरी भ्यानबाट अघिल्लो आर्थिक वर्षभन्दा करिब ३७ अर्ब राजश्व असुलीमा कमी आएको छ।

मुलुकको समग्र भन्सार राजश्व संकलनमा भैररहवा भन्सारको कार्यालयको योगदान करिब १२ प्रतिशत छ। तर, यस पटक राजश्व असुली घट्दा मुलुकको राजश्व लक्ष्यमै प्रभाव परेको छ। 

बेलहिया नाकाको निर्यात भने बढ्यो

यता बेलहिया नाका हुँदै हुने निर्यात भने बढेको छ। आर्थिक वर्ष २०७८/०७९ को तुलनामा ०७९/०८० मा ३८.८ प्रतिशतले निर्यात वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। 

भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार, अघिल्लो आवमा ७ अर्ब ८९ करोड २३ लाख ५४ हजार रुपैयाँ मूल्यको विभिन्न नेपाली वस्तु विदेश निकासी भएकोमा २०७९/०८० मा यो निकासी बढेर १० अर्ब ९५ करोड ७६ लाख ९१ हजार रुपैयाँ पुगेको छ। 

भन्सारबाट सेन्थेटिक यार्न, खजुरको प्रशोधित तेल, खोटो रोजिन, पिना, चोकर भुसलगायत बस्तु बेलहिया नाका हुँदै निर्यात हुने गरेको छ। गत आवबाट बेलहिया नाका हुँदै सिमेन्ट र छड पनि निर्यात भएको छ।

भन्सार तथ्यांकअनुसार सेन्थेटिक यार्न ३ अर्ब १६ करोड ५३ लाखको निर्यात भएको छ। यस्तै, खजुरको प्रशोधित तेल १ अर्ब ३ करोड, खोटो रोजीन ५४ करोड ३९ लाख रुपैयाँको निर्यात भएको छ। 

यस्तै, वनस्पति उत्पादनहरू ४६ करोड २ लाख, पिनालगायत अन्य वस्तु ४५ करोड २६ लाख, सिमेन्ट र क्लिंकर ४० करोड ९१ लाख, अल्किड रेजिन र अन्य पीभीसी ३६ करोड ८९ लाख, चोकर, भुस ३६ करोड २० लाख रुपैयाँको निकासी भएको छ। 

भन्सार अधिकृत उपेन्द्र लामिछानेका अनुसार चाउचाउ, पास्तालगायत ३२ करोड ४८ लाख रुपैयाँ र सिमेन्ट खैरो ३१ करोड ८६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। 

भन्सार पौडेलले निर्यात वृद्धि हुनु सकारात्मक भएको बताए। परनिर्भर भइरहेको अहिलेको अवस्थामा निर्यात वृद्धिमा खुशी हुनुपर्ने भन्दै उनले यस्तै गरी प्रत्येक वर्ष निर्यात बढे व्यापार घाटा पनि कम हुँदै जाने बताए।

सरकारले प्रोत्साहन गर्दै आएकाले पनि निर्यात वृद्धि भएको उनको भनाइ छ। निजी क्षेत्रलाई निर्यातजन्य वस्तु उत्पादनमा जोड दिन पनि आग्रह गरे। 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सरकारले निर्यातमा केही नीतिहरू सुधार गर्दा निकासी बढेको बताए।

साउन ६, २०८० शनिबार १२:३१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।