एउटै मोटरसाइकलमा सवार ४ मध्ये ३ जनाको मृत्यु
विराटनगर : सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ।
चारजना चढेको मोटरसाइकल र भारतीय नम्बरको पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ।
मृत्यु हुनेमा इटहरी– १६ का २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी र २६ वर्षीय करण चौधरी रहेको सुनसरी प्रहरीले जनाएको छ।
तीनै जनाको बिपी स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो। शम्भु र करणको गएराति १२ बजेर ३० मिनेटमा निधन भएको हो भने अनिनासको उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका प्रेमलाल चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।
गएराति पौने ११ बजे पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो।
चार जनामध्ये को चालक हो भन्ने प्रहरीले यकिन गरेको छैन। उक्त मोटरसाइकल भने शम्भु चौधरीको नाममा दर्ता भएको ट्राफिक महाशाखा रामशाहपथले जनाएको छ।
पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ।
साउन ६, २०८० शनिबार १०:४८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।