कोशीका सवा दुई लाख पशुमा लम्पी स्किन संक्रमण, पाँच हजार मरे

कोशीका सवा दुई लाख पशुमा लम्पी स्किन संक्रमण, पाँच हजार मरे

विराटनगर : महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन्।

राँगाभैंसीभन्दा गाईगोरुमा रोगको समस्या बढी देखिएको छ। 

लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ।

निर्देशनालयका फोकल पर्सन डा देवकुमार दर्लामीका अनुसार लम्पी स्किनको सङ्क्रमण कोशीका सबै जिल्लामा फैलिएको छ भने इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको छ।

प्रदेशभर चार हजार ९७९ गाईगोरु र ६१ रागाभैँसी मरेका छन्। तीमध्ये सबैभन्दा बढी इलाममा एक हजार ३८२ गाईगोरु र राँगाभैँसी मरेको निर्देशनालयले जनाएको छ।

झापामा पाँच सय चार, पाँचथरमा चार सय २२, मोरङमा चार सय ८८, उदयपुरमा तीन सय ८५, सुनसरीमा तीन सय ६२, खोटाङमा दुई सय ७९, धनकुटामा दुई सय ७७, सङ्खुवासभामा दुई सय ८५, ओखलढुङ्गामा दुई सय दुई, तेह्रथुममा एक सय ४४, ताप्लेजुङमा एक सय ७०, भोजपुरमा ८३ र सोलुखुम्बुमा ३५ गाईगोरु र राँगाभैँसी लम्पी स्किनको सङ्क्रमणबाट मरिसकेका छन्।

मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन्। आजसम्मको तथ्याङ्कअनुसार पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट सङ्क्रमित रहेको निर्देशनालयका फोकल पर्सन डा दर्लामीले जानकारी दिए। 

उनका अनुसार इलाममा ३१ हजार तीन सय ४९, धनकुटामा २१ हजार पाँच सय ६८, उदयपुरमा २१ हजार एक सय ८८, सुनसरीमा १७ हजार आठ सय ८६, तेह्रथुममा १५ हजार नौ सय ८६, मोरङमा १३ हजार आठ सय ९०, सङ्खुवासभामा १३ हजार चार सय ६०, खोटाङमा १२ हजार नौ सय १०, ओखलढुङ्गामा सात हजार छ सय ९४, ताप्लेजुङमा सात हजार छ सय २३, भोजपुरमा सात हजार एक सय ५२ र सोलुखुम्बुमा सात सय पाँच गाईगोरु र राँगाभैँसीमा लम्पी स्किमको सङ्क्रमण पुष्टि भइसकेको छ। 

लम्पी स्किनको सङ्क्रमण गाईगोरुको तुलनामा राँगाभैँसीमा न्यून सङ्ख्यामा देखिएको छ। कोशी प्रदेशमा सङ्क्रमित सङ्ख्यामध्ये गाईगोरु दुई लाख २३ हजार सात सय २६ छ भने राँगाभैँसीको सङ्ख्या एक हजार आठ सय १७ मात्र रहेको छ।

साउन ६, २०८० शनिबार ०९:१६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।