एनआरएनए अस्ट्रेलिया चुनाव :अध्यक्षका उम्मेदवार खरेल प्रचारप्रसारमा

एनआरएनए अस्ट्रेलिया चुनाव :अध्यक्षका उम्मेदवार खरेल प्रचारप्रसारमा

सिड्नी : गैर आवासीय नेपाली संघ एनआरएनएको चुनावको मिति नजिकिँदै गर्दा अध्यक्षका उम्मेदवार डिला खरेलले प्रचार प्रसारलाई तीव्रता दिएका छन्।

जुलाई २९ मा निर्वाचन हुँदैछ। खरेलले विभिन्न ठाउँमा पुगेर अन्तर्क्रिया गरिरहेका छन्। ‘निस्वार्थ सेवा, समुदायमा एकता, साझा एनआरएनए, मेरो प्रतिबद्धता’ भन्ने मूल मन्त्र लिएर चुनावी मैदानमा उत्रिएका खरेलले आफूसँग भएको योग्यता क्षमता र सीपका आधारमा डायस्पोरामा रहेका मात्र नभई नेपालमा पनि योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौं उपत्यकामा अस्ट्रेलिया पार्क बनाउने घोषणा गरेका खरेलले स्लोगन नै नेपाल र नेपालीलाई ‘दिने, दिने र दिने’ अभियानको पनि सुरुआत हुने बताइसकेका छन्। शिक्षा, स्वास्थ्य र परोपकारमा आफू फोकस हुने बताउँदै चुनाव जितेर आएमा २ वर्षको कार्यकालमा सबै कुरा पूरा हुने पनि बताए। 

नेपाली विद्यार्थीहरूको उत्कृष्ट रोजाईको गन्त्व्यका रूपमा रहेको अस्ट्रेलियाबारे ‘स्टुडेन्ट ह्यान्ड बुक’ तयार पर्ने योजना पनि उनले अघि सारिसकेका छन्।

उनले नेपालबाट अस्ट्रेलिया आउनु भन्दा अगाडि नै यहाँको बारेमा अभिभावक र आउने भाइ बहिनीले थाहा पाउनु आवश्यक रहेको पनि बताए। आफूलाई विद्यार्थीका साथी र युवाको सारथिको रुपमा पनि उनले चिनाएका छन्। 

आफू युवा र विद्यार्थीलाई फोकस गरेरै अघि बढ्ने बताउँदै हरेक युवाको सफलता र समस्या आफ्नो पनि रहेको बताउँदै आफूले समस्या समाधानका लागि हरेक तहबाट ‘सघाउने, सघाउने र सघाउने’ मात्रै रहेको बताए।

यसैगरी उद्यमशील  बन्नका लागि ‘आईडिया ब्याङ्किङ’ कन्सेप्ट रहेको र त्यसका आधारमा नेपाल र नेपालीको आर्थिक समुन्नतीमा पनि एनआरएनए अस्ट्रेलिया र आफू निर्वाचित भएमा हातेमालो गर्न तयार रहेको बताए।

सबैसँगको सहकार्य गरेर आफू दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको पनि खरेलले बताए। 

उनले भने ‘नेपाली विद्यार्थीहरूलाई पढाइलाई सहयोगी हुने एक हाते पुस्तक प्रकाशन गर्नेछौँ जसले उहांहरूलाई कामको खोजी तथा अस्ट्रेलियाको जीवनशैली तथा अवसरबारे पनि ज्ञान दिनेछ। रोजगारी, व्यक्तिगत तथा पेशागत विकासजस्ता निश्चित विषयहरूमा एनसीसी अस्ट्रेलियाले प्रशिक्षण दिलाउनेछ।’

साउन ६, २०८० शनिबार ०७:४५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।