एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तान भिड्ने
काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ‘ए’ र पाकिस्तान ‘ए’बीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा भारत ‘ए’ले बंगलादेश ‘ए’लाई ५१ रनले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। खेल नेपाली समयअनुसार आइतबार दिउँसो सवा २ बजे हुनेछ।
२१२ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई भारतका बलरहरुले ३४.२ ओभरमा १६० रनमै समेटे। भारतका निशान्त सिन्धुले पाँच, मानव सुथरले तीन तथा अभिषेक शर्मा र युवराजसिं दोधियाले एक विकेट लिए।
बंगलादेशका तान्जिद हसैनले ५१, मोहम्मद नैमले ३८, सैफ हसनले २२, महमदुल हसन जोयले २० र मेहदी हसनले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको भारतले ४९.१ ओभरमा अलआउट हुँदै २११ रन जोड्यो। उसका लागि कप्तान यश धुलले ६६ रनको अर्धशतकीय पारी खेले।
यस्तै, अभिषेक शर्मा ३४, साइ सुदर्शन र मानव सुथरले समान २१, नकिन जोस १७, राजवर्धन हंगरगेकर १५ र रेयान पराग १२ रनमा आउट भए।
बंगलादेशका मेहदी हसन, नन्जिम हसन सकिब र राकिबुल हसनले समान तीन–तीन विकेट लिँदा सैफ हसन, सौम्य सरकार र रिपोन मन्डोलले समान एक–एक विकेट लिए।
समूह चरणमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो भने पाकिस्तानले नेपाललाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो।
साउन ५, २०८० शुक्रबार २२:१२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।