सानो अनुपविक्रम जन्माउने रहर छ : अभिनेता शाही
काठमाडौं : अभिनेता अनुविक्रम शाहीले विवाह गर्ने मुडमा पुगेका छन्।
गतवर्ष पनि विवाहको हल्ला चलेर सेलाएका अभिनेताले यसपटक मुखै फोरेर विवाहको लगनको पर्खाइमा रहेको बताएका हुन्।
शुक्रबार राइजिङ मलको क्युज सिनेमामा उनी अभिनित म्युजिक भिडियो ‘तिमी हौ सबथोक मेरो’को रिलिज कार्यक्रम थियो। कार्यक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफमा दिने क्रममा उनी विवाहको तयारीबारे खुलेर कुरा गरे।
‘गत वर्ष पनि बिहे गर्दैछु भनेर हल्ला चलाउनुभो, तर दुई महिनापछि विवाह हुँदै रैछ नि हैन?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यसपटक विवाह गर्ने मुडमा छु। मलाई पनि सानो अनुपविक्रम जन्माउने रहर छ।’
बेहुली र आफू तयार भइकसेको भए पनि लगन कुरिरहेको उनले बताए। यति बोल्दै गर्दा अनुपविक्रम हल्का लाज मान्दै कुरा चपाउन थाले। त्यसपछि ‘तिमी हौ सबथोक मेरो’ गीतका गायक शिव परियारले उनलाई सहज बनाइदिए।
उनले भने, ‘उहाँको हुनेवाला दुलही यही गीतको भिडियो सुटमा समेत पुग्नुभएको थियो।’
गायक परियारको कुरा भुइँमा खस्न नपाउँदै पत्रकारले सोधिहाले, ‘उहाँ फिल्म लाइनकै हुनुहुन्छ कि बाहिरको?’
उनले थपे, ‘मेरो हुनेवाली दुलही फिल्मी क्षेत्रभन्दा बाहिरको हुनुहुन्छ। यो गीतको म्युजिक भिडियोको सुटमा पनि जानुभएको थियो।’
उनले आफ्नो प्रेमिकाको नाम भने खुलाउन चाहेनन्। विवाहपछि मात्र भन्ने रे।
साउन ५, २०८० शुक्रबार २०:००:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।