एक महिनाको हिरासत बसाइपछि काममा फर्किए हास्यकलाकार

एक महिनाको हिरासत बसाइपछि काममा फर्किए हास्यकलाकार

काठमाडौं : अवैध सट्टेबाजी वान–एक्स बेटको प्रचारप्रसारमा संलग्न भएको अभियोगमा करिब एक महिना प्रहरी हिरासतमा बिताएका कलाकारहरू नियमित काममा फर्किएका छन्।

हिरासतबाट रिहा भएको एक सातापछि कलाकारहरू मरिचमान श्रेठ (बल्छी धुर्बे), राजु पौडेल (राजु मास्टर) र अर्का कलाकार बेगम नेपाली काममा फर्किएका हुन्।

शुक्रबारबाट टेलिश्रृंखला ‘हल्का रमाइलो’को छायांकन थालिएको लेखक तथा निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले उकेरालाई बताए।

‘आइतबारको एपिसोडका लागि अहिले हाम्रो टिम धर्मस्थलीमा धमाधम छायांकनमा छौँ,’ उनले उकेरासँग भने, ‘ अस्तिको हप्ता रोकिएको सिरियल आइतबारबाट नियमित प्रसारण हुन्छ।’

टेलिश्रृंखलामा मरिचमानका अलवा पुजन घिमिरे, सविता गुरुङ, रजनी गुरुङ, उत्तम केसी, कमला रेग्मी, उज्वल खड्का, लक्ष्मण चौलागाई(खिन्ते काका), निर्मला आचार्य लगायतका कलाकारको अभिनय छ।

उनीहरूले नै निर्माण गरेको सामाजिक कथावस्तुमा आधारित सिरियल ‘जुठे’ प्रसारण हुन भने केही समय लाग्ने उनले बताए। यसको छायांकन लमजुङतिर गर्नुपर्ने हुँदा सबै कुरा मिलाउन समय लाग्ने तत्काल नयाँ भाग प्रसारण नहुने उनको भनाइ छ।

बल्छीसँगै हिरासतबाट रिहा भएका कलाकार बेगम नेपाली पनि कामामा फर्किएका छन्। उनी एपिवानबाट प्रसारण हुने सिरियल ‘गाह्रो छ हो’को सुटिङमा शुक्रबारबाटै जोडिएका छन्।

बेगमका अनुसार उनी ‘गाह्रो छ हो’को १६०औं श्रृंखलाबाट दर्शकमाझ आउने छन्, जुन अर्को साता प्रसारणमा आउनेछ।

अर्का कलाकार तथा निर्देशक सरोज घिमिरे पनि रिहा भएकै केहि दिनबाट सिरियल ‘परिवार’मार्फत दर्शकमाझ आइसकेका छन्।

वान–एक्स बेट प्रकरणमा एक महिना हिरासतमा बसेपछि बल्छी धुर्बे, राजु मास्टर, पवन खतिवडा (म्याकुरी), भट्भटे माइला लगायत आठ जना कलाकार र युट्युबर गत साता रिहा भएका थिए।

साउन ५, २०८० शुक्रबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।