पाकिस्तान इमर्जिङ एसिया कपको फाइनलमा

पाकिस्तान इमर्जिङ एसिया कपको फाइनलमा

काठमाडौं : डिफेन्डिङ च्याम्पियन पाकिस्तान ‘ए’ श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको फाइनल प्रवेश गरेको छ।

शुक्रबार कोलम्बोको पी सारा ओभलमा भएको खेलमा घरेलु टोली श्रीलंका ‘ए’लाई ६० रनले पराजित गर्दै पाकिस्तान ‘ए’ले फाइनलमा स्थान पक्का गरेको हो।

३२३ रनको लक्ष्य पछ्याएको श्रीलंका ‘ए’ ४५.४ ओभरमा सबै विकेट गुमाएर २६२ रनमा समेटियो। उसका लागि अभिस्का फर्नान्डो र सहान अराचचिङ्गेले समान ९७–९७ रन बनाउँदा अन्य खेलाडीले रन बनाउन सकेनन्।

पाकिस्तान ‘ए’का अरशद इक्बालले पाँच, मुबासिर खान र सुफियान मुकीमले दुई–दुई र अमद बटले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ‘ए’ले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२२ रन जोडेको थियो।

उसका लागि ओमैर युसूफले ८८ र कप्तान मोहम्मद हरिशले ५२ रनको अर्धशतकीय पारी खेले।

यस्तै मुबासिर खान ४२, तैयब ताहिर २६, मोहम्मद वसीम २४, सैयम आयुब २२, सहीबजादा फरहान १२ रनमा आउट हुँदा अरशद इक्बालले १० रन नटआउट खेले।

कुसिम अक्रम ८ र अमद बट ७ रनमा आउट भए।

श्रीलंका ‘ए’का चमिका करुणारत्ने, प्रमोद मदुसान र लाहिरु समारकूनले समान दुई–दुई विकेट लिँदा दुनिथ वेलाङ्गे र सहान अराचचिगेले समान एक–एक विकेट हात पारे।

समूह चरणमा नेपाललाई पराजित गरेर सेमिफाइनल प्रवेश गरेको पाकिस्तान ‘ए’ भारत ‘ए’सँग भने पराजित भएको थियो।

अर्को सेमिफाइनलमा भारत ‘ए’ र बंगलादेश ‘ए’ प्रतिस्पर्धा गरिरहेका छन्। भारतले बंगलादेशलाई २१२ रनको लक्ष्य दिएको छ। ४९.१ ओभरमा भारतले सबै विकेट गुमाएर २११ रन बनाएको थियो।

यी दुईमध्येको विजेताले आइतबार हुने फाइनलमा पाकिस्तान ‘ए’सँगको भेट पक्का गर्नेछ।

साउन ५, २०८० शुक्रबार १८:११:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।