मध्यमधार : तेक्वन्दोका ‘सेकेन्ड डान’ इभान जसले ट्रान्सम्यान भएकै आधारमा राष्ट्रिय प्रतियोगिता खेल्न पाएनन्
इभान पौडेल कबड्डी र तेक्वन्दोको राष्ट्रिय खेलाडी हुन्। उनले विभिन्न जिल्लास्तरीयसँगै राष्ट्रिय खेलबाट आफ्नो छुट्टै परिचय बनाइसकेका छन्।
तर, जबदेखि उनले आफ्नो यौनिकताबारे खुलेर कुरा गरे, त्यस दिनदेखि भने उनको पहिचान खेलाडीभन्दा पनि यौनिकताका आधारमा हुन थालेको छ। उनले स्कुलदेखि खेल्दै आएको खेलभन्दा ठूलो अहिले उनको यौनिकता भएको छ।
शारीरिक रूपमा महिला भए पनि उनी मानसिक रूपमा भने पुरुष हुन्। जसलाई ‘ट्रान्स म्यान’, वा ‘तेश्रो लिंगी पुरुष’ भन्ने गरिन्छ।
त्यही भएर उनले न महिलाको टिमबाट खेल्न पाए, न पुरुषको टिमबाट खेल्न दिए। नेपाली खेल क्षेत्रमा इभानजस्ता धेरै ट्रान्सम्यानहरू छन्। तर, उनीहरू खुल्न सकिरहेका छैनन्। आफ्नोबारे खुलाउँदा समस्यामा परिने उनीहरूलाई डर छ।
इभान ८ वर्षको मात्र थिए, जब उनको खेलमा रुचि हुन थाल्यो। उनले बागलुङ जिल्लाबाट तेक्वन्दो खेलयात्रा बढाएका थिए। उनका दाइ पनि खेल क्षेत्रमै थिए।
खेलप्रति औधि रुचि राख्ने उनी भन्छन्, ‘सानैदेखि म खेलमा अगाडि नै थिए। दादाले गेम खेल्न त भन्नुभयो। अनि साइडमा हाम्रो गुरु बस्नुहुन्थ्यो। उहाँले पनि राम्रो खेल्छौ भने खेल्न त भन्नुभयो। त्यहाँदेखि मैले खेलेँ।’
तेक्वाइन्दोमा पाइने उपाधि ‘ह्वाइट बेल्ट’ मै उनी धौलागिरी अञ्चलबाट खेल्नका लागि छनोटमा परे। पछि भने जिल्लाबाट खेल्ने कुरा भएपछि उनी कास्कीबाट खेल्न गए। त्यसमा पनि छनोट भए।
तेक्वन्दोको उनको यात्रा राम्रै चलिरहेको थियो। त्यत्तिकैमा स्कुलबाट कबड्डीका लागि कुरा आयो। उनी तेक्वन्दोबाटै अगाडि बढ्न चाहन्थे। तर, कबड्डीको टिममा मान्छे नपुगेपछि उनी यसमा सामेल भए।
‘जोइन गरेँभन्दा पनि स्कुलबाट तेक्वान्दो नै खेले भने फेरि कबड्डीको टिममा कोही नहुने। दुइटा गेम खेल्न नपाउने भएको करण अहिलेलाई कबड्डीमा यसो फोकस गर्दिऊँ न भन्ने भयो,’ उनी भन्छन्, ‘स्कुल लेभलबाट पहिलो पटक जिल्लामै कबड्डी खेलेको छनोट पनि भइहालेँ। पहिलो पटक नै कास्कीमा आएर खेल खेलेको। त्यहाँबाट फेरि सिधै नवलपुर राष्ट्रिय खेलमा छनोट भएँ।’
‘ट्रान्सम्यान हुँ भने सपना सबै चकनाचुर बनाइदिए’
उनी त्यहाँ तेश्रो भएका थिए। राष्ट्रियस्तरका खेलहरूमा भने दोस्रोसम्म भएका उनले प्रथमको स्वाद भने अहिले काठमाडौंमा भएकाले बागमती प्रदेशबाट चाख्ने इच्छा राखेका थिए।
तर, फारम भर्दा अहिले ‘महिला’ र ‘पुरुष’ मा टिक लगाउनुको सट्टा ‘अन्य’मा टिक लगाइदिए। त्यहि भएर उनी छनोटमै परेनन्।
उनी अहिले पनि तेक्वन्दोमा ‘सेकेन्ड डान’को रूपमा छन्। सेकेन्ड डान भनेको ‘ब्ल्याक बेल्ट’ माथिको दुई चरण हो। त्यसमा पनि धौलागिरि अञ्चलको विजेता भइसकेका छन्।
साफ च्याम्पियनसिपमा स्वयंसेवक भएर काम गरेका उनले इन्डो च्याम्पियनसिपको भने विजेता नै पनि भइसकेका छन्। त्यस खेलमा भने उनी सधैँ प्रथम नै हुन्छन्।
‘मैले आफ्नो पहिचानबारे भन्दै गएँ। खुल्दै गएँ। ट्रान्सम्यान नै हुँ भनेर अगाडि आएपछि खेल खेल्नै गाह्रो भयो। यो समुदायको (लैंगिक तथा यौनिक अल्पसंख्यक)को व्यक्तिलाई खेल्न नै नदिने रहेछ,’ मधुरो अवाजमा उनले भने, ‘मुक्का बक्सिङमा चै लेस्बियन भनेर आ-आफ्नो ठाउँमा खेलाउँछ। तर, अरूमा नखेलाउने रहेछ। मैले आफ्नोबारे भन्दै गएपछि केटीको समूहबाट पनि खेल्न दिइएन।’
धेरैमा त छनोट गरेपछि आफ्नो समुदायकालाई तालिम नदिने पनि गरेका उनी बताउँछन्।
‘हाम्रा राष्ट्रिय खेलाडीहरू धेरै ट्रान्सम्यान छन्। तर, यस्तै कारणले नखुलेको हुन सक्छ। तर, त्यही मान्छे नखुल्दा चैँ खेल्न मिल्ने अनि खुलेपछि चै खेल्न मिल्ने भन्ने त हुँदैन होला नि!’
इभान आफूले खेल्दा भने पहिचानबारे भनेर नै खेल्ने मनसायमा छन्।
‘आफ्नो पहिचान लुकाएर खेल्दिनँ। ठूलो आवाजको साथ, गर्वको साथ खेल्छु। मैले केही कुराहरू पनि राखेको छु। एकपटक बोलाउँछु नि त भन्नुभएको पनि छ। हेरौँ के हुन्छ।’
खेलमा यौनिकता हेर्ने नै हो भने यसै समुदायको लागि भनेर छुट्टै टिम बनाइदिए पनि पुग्ने उनको माग छ।
‘कति धेरैले कपाल काटेको हुन्छ। कुनै यही समुदायको पनि हुन्छ। कुनैले खेलका लागि काटेको पनि हुन्छ। तर, हामीले पहिचान खोल्यो भन्दैमा विभेद गर्न पाइँदैन। केही गर्न सक्छौं। केही गरेर देखाउन सक्छौं भनेर पहिचान खोलेको हो नि त! हामीले गरेर देखाएको पनि छौँ। त्यति धेरै सपना बोकेर यहाँसम्म पुगेको हुन्छ। यसकै आधारमा सपना सबै चकनाचुर बनाइदिन्छ,’ उनले भने।
सानोमा आफू केटा नै हो भन्ने सोचिरहे, तर महिनावारी भए
इभानको घर पोखरा हो। उनले आफ्नो बाल्यकाल बागलुङ र पोखरामा बिताए। अहिले ‘बीएचएम’ गर्न उनी काठमाडौंमै छन्। तीन जना दिदी बहिनी र दुई जना दाजुभाइबीच उनी माइलो सन्तान हुन्।
उनका बा प्रहरी हुन् भने दाइ ब्रिटिश आर्मी। एक जना दिदी अष्ट्रेलिया छिन्। अनि बाँकी अरूले पढाइलाई निरन्तरता दिइरहेका छन्।
‘परिवारसँग खासै घुलमिल भएन। ड्याडी बाहिरको बाहिरै। दादा पनि तालिममा व्यस्त अनि ममी घरमै व्यस्त। शहरमै बसेको भएर त्यस्तो काम नै गर्नपर्छ भन्ने पनि भएन’, उनले भने।
सानैमा केटीले केटी मन पराउँछ भन्ने थाहा पाएँ। त्यसलाई ‘लेस्बियन’ भनिन्छ भन्ने थाहा पाएपछि उनले आफू पनि यस्तै हो भन्ने बुझे।
विस्तारै यस समुदायमा रहेका अग्रजहरूसँग उनको उठबस हुन थाल्यो। त्यसपछि भने उनले आफू पूर्ण रूपमा ट्रान्सम्यान हो भन्ने थाहा पाए।
उनले सानोमा आफू केटा नै हो भन्ने सोचिरहे। तर, उनको त्यो सोच त्यसबेला गलत सावित भयो जुन बेला उनी पहिलो पटक महिनावारी भए।
‘आठ कक्षासम्म त महिनावारी पनि भएको थिएन। तर, पछि महिनावारी हुँदा आफैँलाई पनि कस्तो अचम्म लाग्यो। मलाई पनि यस्तो होला भन्ने मैले सोचेको पनि थिएन। के भएको होला भन्ने भयो। त्यतिबेला नै हो मैले म केटी रहेछु भनेर थाहा पाएको। मैले त म केटा नै हो भन्ने सोच्थेँ। नराम्रो पनि लागिराथ्यो। पिरियडको टाइम भनेको नराम्रो नै पनि हुन्छ। नभैदियोस भन्ने पनि हुन्थ्यो। तर, के गर्ने ?’ उनी यसपछि चुप लागे।
हिन्दु धर्म मान्नेहरूले महिनावारी बार्ने गर्छन्। अझ त्यसमाथि पहिलो महिनावारी धेरैले कडा अनुशासनमा रहेर बार्ने गर्छन्। उनले पनि आफ्नो पहिलो महिनावारी बारे। तर, दिदीले जस्तो एक हप्ताको भने बार्न परेन। तीन दिन चाहिँ बारे।
उनले सुनाए, ‘अनिवार्य जस्तो थियो। दादा र बाबाको मुख पनि हेर्नु हुन्थेन। तीन दिन हेरिनँ पनि। पछिचाहिँ दादाले भयो अब पर्दैन बस्न। नुहाऊ, आऊ, बस, खाऊ भन्नुभयो।’
उनी पहिलादेखि नै केटाको हुलियामा हिँड्थे। खेलमा सक्रिय भएको कारण कपाल पनि काटेका थिए।
‘मामाघरको हजुरआमा नाती भएर जन्मिनुपर्ने। नातिनी भएर जन्मिएछ भन्नुहुन्थ्यो। त्यो बेला नाती भन्दिँदा खुशी लाग्थ्यो। अहिले पनि म गएँ भने यो मेरो नातिनी हैन नाति हो भन्नुहुन्छ। मलाई खुशी लाग्छ’, उनले भने।
तर, हजुरआमाको जस्तो आत्मीयता बाहिरको मान्छेहरूमा कहाँ हुन्थ्यो र! धेरैको मुखबाट त उनले सिधै ‘किन केटाजस्तो गरेर हिँडेको? केटी बनेर हिँड् न!’ भनेको पनि सुनेका छन्। तर, उनी खुरुखुरु आफ्नो खेलमा ध्यान दिन्थे। पहिला धेरै नराम्रो लाग्ने गरे पनि अहिले पनि बानी नै परिसकेको उनी बताउँछन्।
‘परिवार पनि समाजकै उपज त हो’
घरमा सबैले आफ्नोबारे बुझे पनि बाबाले भने नबुझेकोमा उनको चित्त दुखाइ छ।
‘ड्याडीले पनि पहिला राम्रै गर्नुहुन्थ्यो। अहिले चैँ खै मैले नै बुझाउन नसकेको हो कि! म आफैँले पनि बुझ्न सकिरहेको छैन के भएको हो भनेर। उहाँलाई पनि समाजमा के जवाफ दिने भन्ने भयो होला,’ उनी भन्छन्, ‘आफूले माया गरेको मान्छेलाई विश्वास दिन सक्नुपर्यो। मेरो परिवारले मलाई यहाँ पुर्याइदिनुदिनुभयो। कुनै ठाउँमा पुगेपछि मैले पनि हेर्छु होला। तर, अझै पनि उहाँहरूले मेरो खुशी नै बुझ्नुभएको छैन।’
‘म कोसँग खुशी छु भनेर उहाँहरूले पनि हेरिदिनुपर्यो। मेरो पार्टनर र मैले एक अर्कालाई स्वीकार गरिसकेका छौं भने मलाई अरूले के भन्छ भनेर फरक पर्दैन। किनभने हाम्रो समाज त्यस्तै हो भनेर बानी पनि परिसक्यो। परिवार पनि त समाजकै पाटो त हो। आफ्नोबारे भन्दा स्वीकार गर्छु भन्यो भने पनि उहाँहरूलाई पनि केही न केही लाग्ने त रहेछ। हामीबाट केही गल्ती भयो भने पनि उहाँहरूले पनि भन्न नछोड्ने रहेछ’, उनी भावुक सुनिए।
अहिले भने इभान बारटेन्डरमा काम गर्छन्। कक्टेल, मक्टेल बनाउँछन्। खेलमा अगाडि बढ्न सकेन भने उनलाई यसैमा पनि आफ्नो करिअर अगाडि बढाउन मन छ।
उनी भन्छन्, ‘प्रोफेसनल बार टेन्डर हुन मन छ। अनि अर्को भनेको चै बक्सिङतिर नि जान्छु होला। किनभने त्यहाँ लैंगिकता र यौनिकता हेरेर छनोट गरिँदैन।’
एउटा समय आएपछि हावा भएर हिँडेर मात्र नहुने उनको बुझाइ छ।
‘मेरो पछाडि यता उता हेरिदिने कोही छैन। हो सबैले म छु त भन्छन्। कुनै-कुनैमा साथ दिन्छन् पनि। तर, जब आफूलाई साच्चिकै दुःख पर्छ त्यतिबेला साथ दिने कोही पनि हुँदैन। त्यै भएर काम पनि गरिरहेको छु। सीप पनि वृद्धि हुँदै जान्छ। अलि-अलि खर्च पनि जुटाउन सकिन्छ’, उनले भने।
अस्तित्व देखाउनुपर्ने ठाउँमा लड्नुपर्ने बाध्यता
इभान जम्मा २० वर्षको मात्र भए। तर, उनलाई यो समाज र परिस्थितिले निकै पाको बनाइदिसकेको छ। आफू सक्षम हुन पनि चाहन्छन्।
धेरै कुरालाई मनमा नलिन पनि सिकिसकेका छन्। अनि श्रमको र मिहिनेतको मूल्यको सम्मान पनि गर्न सिकिसकेका छन्। त्यही भएर सानै उमेरमा आफ्नो सपना टुटेपछि उनले वेटरको रूपमा काम गरे। अहिले त्यसैलाई निरन्तरता दिन उनी बीएचएम पनि पढ्दैछन्।
उनी हर्मोन पनि लिने गर्छन्। तर, डाक्टरको परामर्शअनुसार। अब उनलाई आफ्नो यौनिकतासम्बन्धी नागरिकता चाहिएको छ।
‘मलाई सम्पत्ति, विवाहभन्दा पनि पहिला नागरिकताको अधिकार चाहिएको छ। किनभने बैंकदेखि हरेक ठाउँमा नागरिकता माग्छ। नाम बोलाउँछ, अनि जाँदा तिमी हो र भन्दिन्छ। अब अप्ठ्यारो त लागिरहेको हुन्छ। तर, के गर्ने। हाँसेरै टारिदिनुपर्यो नि!’
नेपालमा सर्वोच्च अदालतले यस समुदायको विवाहलाई कानूनी मान्यता दिन अल्पकालीन अन्तरिम आदेश दिए पनि काठमाडौं जिल्ला अदालतले नमानेपछि उनी दुःखी छन्। किनभने केही समयपछि उनी पनि त्यो अवस्थामा पुग्छन्। जसमा उनले समान लिङ्ग भएको साथीलाई जीवनसाथीको रूपमा छान्नुपर्ने हुन्छ।
अनि बच्चाका लागि भने ‘सरोगेसी’ र ‘एडप्सन’ को विकल्प भए पनि आफूहरूको विवाहले कानूनी मान्यता नपाएकै कारण त्यो पनि गर्न सक्दैनन्।
‘अहिले त असम्भव नै जस्तो भएको छ। तर, त्यो सहज बनाइदिनुपर्यो। छिटोभन्दा छिटो।’
उनी भन्छन्, ‘सबैभन्दा पहिला आफूले आफूलाई स्वीकार्नु सिक्नुस्। आफ्नो अस्तित्व देखाउनुपर्ने ठाउँमा लड्नुस्। धेरै जना साथीहरू खुल्न पनि सक्नुभएको छैन। तर, वरपर कस्तो छ भनेर बुझ्नुस्। यस समुदायको धेरै मान्छेहरू पढ्न सक्नुभएको छैन। सकेसम्म पढाइलाई प्राथमिकता दिनुस् अनि आफ्नो पहिचानलाई कहिले पनि नदबाउनुस्।’
मध्यमधारका सामग्री
साउन ५, २०८० शुक्रबार १७:१२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।