एसिया कपमा भारत र पाकिस्तानसँग भिड्न नेपालले श्रीलंकामा विशेष प्रशिक्षण गर्ने
काठमाडौं : पहिलो पटक एसिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामै बसेर तयारी गर्ने भएको छ।
पाकिस्तानले अर्को महिना आयोजना गर्न लागेको एसिया कपको तयारीका लागि नेपाली टिमले श्रीलंकामै बन्द प्रशिक्षण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपाली टिम इमर्जिङ एसिया कप खेल्न श्रीलंका गएको थियो। त्यसेलै एक महिनापछि हुने एकदिवसीय एसिया कपको लागि नेपाली टिमले स्वदेश फर्कनुको साटो श्रीलंकामै १५ दिनको विशेष प्रशिक्षण गर्न लागेको हो।
इमर्जिङ एसिया कपमा भारत र पाकिस्तानको ‘ए’ टिमसँग हारेको नेपालले एसिया कपमा भारत र पाकिस्तानको प्रमुख टिमसँग खेल्नेछ।
एसिया कपमा नेपाल र भारतबीचको खेल पनि श्रीलंकामा नै हुनेछ।
श्रीलंकन क्रिकेट बोर्डको सहयोगमा नेपालले विशेष प्रशिक्षण दौरान स्थानीय टिमहरुसँग अभ्यास खेल पनि खेल्ने क्यानले जनाएको छ।
यसपछि नेपाल एसिया कपको पहिलो खेलमा आयोजकसँग भिडन्त गर्न पाकिस्तान जानेछ।
नेपालले भदौ १३ गते हुने उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ भने यसपछि भदौ १८ गते भारतसँगको खेलका लागि भने नेपाल पुन: श्रीलंका जानेछ।
साउन ५, २०८० शुक्रबार १६:४८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।