मर्मत नहँदा गोदाममै थन्किए भेरी अस्पतालका १२ वटा भेन्टिलेटर
नेपालगन्ज : मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ वटा भेन्टिलेटर गोदाममा थन्किएका छन्। कोभिड-१९ को समयमा सरकार र विभिन्न दाताले ती भेन्टिलेटर सहयोग गरेका हुन्।
भेन्टिलेटर बिग्रिएपछि हाल गोदाममा थन्क्याइएको भेरी अस्पतालका चिकित्सक डा. पारस पाण्डेले जानकारी दिए।
पाण्डेले कोभिड-१९ का बिरामीको उपचारमा समस्या भएपछि विभिन्न दाताले उपलब्ध गराएका पाँचवटा भेन्टिलेटर मर्मत गर्न नसक्दा गोदाममा थन्किएको बताए। साथै सरकारले खरिद गरेका २० मध्ये सातवटा भेन्टिलेटर पनि बिग्रिएको उनी बताउँछन्।
अस्पतालमा बाँकी रहेका १३ वटा भेन्टिलेटरमा पनि ब्याट्रीको समस्या देखिएको छ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले हाल दैनिक ६ वटा भेन्टिलेटर सञ्चालनमा ल्याएको बताए।
भेरी अस्पतालको आइसीयूमा १५ वटा बेड छन्। चापागाईंले सघन रोगका बिरामीलाई मात्र आइसीयूमा राखेर उपचार गरिने र आइसीयूमा उपचाररत बिरामीलाई स्वास फेर्न गाह्रो भएपछि भेन्टिलेटरको आवश्यकता पर्ने बताए।
साउन ५, २०८० शुक्रबार ११:५४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।