६० वर्षपछि स्तरोन्नति हुँदै बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक, बढाएर चार लेन बनाइँदै

६० वर्षपछि स्तरोन्नति हुँदै बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक, बढाएर चार लेन बनाइँदै

बुटवल : विश्व बैंकको सहयोगमा बुटवल-गोरुसिंगे-चन्द्रौटा सडकको स्तरोन्नतिको काम सुरु हुने भएको छ। बहुवर्षीय योजनाअनुसार ४ लेनमा स्तरोन्नति गरिनेछ। 

निर्माण सुरु भएको ६० वर्षपछि थालिएको स्तरोन्नतिको काम ६९ किलोमिटरमा हुनेछ। विश्व बैंकको सहयोगमा ३५ अर्बको लागतमा सडक स्तरोन्नति हुने भएको हो। 

आयोजनाको दुई हप्ताअघि मात्र हस्ताक्षर गरी शुभारम्भ गरिएको भए पनि फिल्डमा काम हुन भने अझै केही समय लाग्नेछ। दुई हप्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले आयोजनाको शुभारम्भ गरेका थिए।

आयोजनाले नेपालमा छानिएका व्यापारिक कोरिडोरमा व्यापार, यातायात लागत र पारवहन समय घटाएर व्यापार र आबद्धता सुधार गर्ने विश्व बैंकले जनाएको छ। 

यो सडक दुई चरणमा सम्पन्न गरिनेछ। पहिलो चरणमा ५० किलोमिटरको स्तोरन्नति गरिनेछ। त्यसपछि बाँकी १९ किलोमिटरमा काम हुने सडक विभागले जनाएको छ।

तत्काल राजा महेन्द्रको पालामा २०१८ सालमा निर्माण भएको यो सडक हाल २ लेनमा छ। बढ्दो जनघनत्व, सवारी चापलाई मध्यनजर राख्दै ४ लेनमा सडकलाई विस्तार गर्न थालिएको हो। यसले पूर्व-पश्चिमको यात्रालाई सहज बनाउनेछ भने दुर्घटनाको जोखिम पनि कम गराउने अपेक्षा लिइएको छ।

अहिले बुटवल-नारायणगढ सडक पनि विस्तारको क्रममा छ। तर यो सडक खण्डको काम भने कछुवा गतिमा अघि बढेको छ। काम ढिला हुँदा सर्वसाधरण, सवारी चालकका साथै सवारी धनी पनि यसबाट प्रत्यक्ष प्रभावित भएका छन्।

बुटवल-नारायणगढ सडकमा भएको ढिलासुस्ती यो सडक विस्तारमा नहुने गरी काम अगाडि बढाइने सडक विभागका सहसचिव विजय जैसीले बताए। 

उनले ठेक्का लगाएको ३ वर्षभित्र निर्माण सक्ने गरी काम अगाडि बढाउन निर्देशन दिने बताए। उनका अनुसार एक महिनाभित्र सडकको स्तरोन्नतिको ठेक्का हुने र भदौदेखि फिल्डमा काम हुने बताए। 

सडक डिभिजन कार्यालय बुटवलका सिनियर डिभिजन इन्जिनियर होमबहादुर एसीले बढ्दो सवारीसाधनको चापले अब राजमार्गहरू कम्तीमा फोर लेन बनाउन अनिवार्य भइसकेको बताए।  

तिनाउमा नयाँ प्रविधिको सिग्नेचर पुल

बुटवल-नारायणगढ सडक विस्तार र बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक विस्तार हुँदै गर्दा बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माण हुनेछ। 

यो पुल पनि विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको हो। पुलको अहिले डिजाइन गरेर अन्तिम छलफलमा छ। पुलको डिजाइन तयार पार्ने क्रममा पुलको पूर्वी प्रवेशद्वार नजिकै राधाकृष्ण टोल र विकास पथका बीचमा भूमिगत सडक जोड्ने र पश्चिमतर्फको मार्ग पनि कायमै रहने गरी डिजाइनलाई अन्तिम रूप दिन थालिएको छ। 

विश्व बैंक दक्षिण एसिया शहरी विकास एकाइकी वरिष्ठ शहरी विकास योजनाकार स्टेफनिया अबकेर्ली तिनाउमा बन्ने पुल नेपालकै नमूना र पर्यटकीय स्थलहरूसँग जोडिएकाले यसले स्थानीय बासिन्दा र स्थानीय सरकारलाई लाभ दिलाउने बताए।

ऐतिहासिक र पर्यटकीय स्थलहरू जितगढी किल्ला र युद्ध सङ्ग्रहालयमा पर्यटक आउन पुलले समेत सहयोग पुर्याउने उनको विश्वास छ। 

बुटवल उपमहानगरपालिकाले पनि यस क्षेत्रको ऐतिहासिक स्थललाई जोड्ने गरी पुलको डिजाइन गर्न भनेको छ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दु मन्दिर र मुस्लिम मस्जिदबीच समेत मैत्रीभाव राख्ने सन्देश दिने गरी पुलको डिजाइन गर्न योजनाकार स्टेफनिया अबकेर्लीकालाई भनिएको बताए।

साथै उनले पुल निर्माणपछि यस क्षेत्रका पर्यटकिय स्थलहरू अवलोकनमा सहज हुने बताए। 

सिग्नेचर पुलका लागि भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक्ट डिजाइन तयार पारेको छ। पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको छ। 

विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल डिजाइनका लागि यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेका थिए। 

सरकार परिवर्तन भएपछि अर्थमन्त्री जनार्दन शर्माले ९ वटा पुलका लागि विनियोजन भएको रकम काटेर नारायणघाटमा मात्र एउटा सिग्नेचर पुल बनाउने गरी बजेट संशोधन गरेपछि अर्थ मन्त्रालयमा तनाव सिर्जना भएको थियो। 

अर्थका सचिवहरूले पूर्वअर्थमन्त्री पौडेलकै परिकल्पनाअनुसार सिग्नेचर पुलको बजेट व्यवस्था गरिएकाले बुटवलको पुल नकाट्न आग्रह गरेपछि मन्त्री शर्मा सहमत भएका थिए। सोहीअनुसार सरकारले अहिले चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदीमा पुल बनाउने तयारी गरेको हो। 

के हो सिग्नेचर ब्रिज ? 

पुलको आधुनिक प्रकार हो, सिग्नेचर ब्रिज। यो अन्य पुलको तुलनामा निकै आकर्षक हुन्छ। अधिकांश शहर नजिकैका नदीहरूमा इन्जिनियरहरूले सिग्नेचर ब्रिज डिजाइन गर्ने गर्छन्। इरासमस ब्रिज, रोटर्डाम ब्रिज, लण्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज आदि सिग्नेचर ब्रिजका रूपमा परिचित छन्। 

सिग्नेचर ब्रिज सिमेट्रिकल आकारमा निर्माण गरिन्छ। त्यसले पुलको सम्पूर्ण भार थाम्ने गर्छ। पछिल्लो समय एसिमेट्रिकल आकारमा पनि सिग्नेचर पुल निर्माण गर्ने प्रचलन छ। सिग्नेचर पुलको डिजाइन निकै जटिल हुने गर्छ। यो ब्रिजको बीचमा पिलर बनाएर पूरै भागलाई तारले धानेको हुनेछ।

विदेशतिर बन्ने सिग्नेचर पुलको निर्माणमा उच्च गुणस्तरीय र बाक्लो स्टिल प्रयोग गर्ने गरेको पाइन्छ। आवश्यकता र पुलको डिजाइनअनुसार स्टिल प्रयोग हुन्छ। निर्माणका क्रममा स्टिलसँगै उच्चस्तरको कङ्क्रिट सामग्री प्रयोग गरिन्छ।

सिग्नेचर पुलमा पाइलोन र डेक सबैभन्दा महत्वपूर्ण कम्पोनेन्ट हुन्। सिग्नेचर पुलको सफलतापूर्ण निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षण, भूगोल, पुल बन्ने स्थान आदि विषयको अध्ययन तथा अनुसन्धान जरुरी हुन्छ। सिग्नेचर पुल निर्माणमा ठूलो क्रेन आवश्यक पर्छ।

हेर्दा आर्कषक, कलात्मक हुने हुँदा सिग्नेचर पुल अन्य पुलभन्दा फरक खालको हुन्छ। नेपालमा अहिलेसम्म पुरानै शैलीका परम्परागत पुलहरू मात्र बनाइरहेको अवस्थामा बन्ने सिग्नेचर पुलले पर्यटकहरू आकर्षित गर्नेछ।

साउन ५, २०८० शुक्रबार ०७:४३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।