काठमाडौँका प्रमुख चार सरकारी अस्पतालमा चल्दैन सिटी स्क्यान मेसिन, कतै युपिएस बिग्रियो, कतै सामान्य फिल्म समेत किनेनन्

काठमाडौँका प्रमुख चार सरकारी अस्पतालमा चल्दैन सिटी स्क्यान मेसिन, कतै युपिएस बिग्रियो, कतै सामान्य फिल्म समेत किनेनन्
हेलम्बुबाट वीर अस्पतालमा उपचारका लागि आफन्त लिएर आएका रामसिंह तामाङ।

काठमाडौँ : काठमाडौँका प्रमुख चार अस्पताल वीर, ट्रमा सेन्टर, निजामती कर्मचारी र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगमा सिटी स्क्यान मेसिन त छ तर चल्दैन। चारै वटा प्रमुख अस्पतालमा सिटी स्क्यान हुन्न अहिले। स्वास्थ्य परीक्षणका लागि पुगेकाहरूलाई ती अस्पतालका प्राविधिकले सहजै चल्दैन अन्त जानु भनेर फर्काउँछन्।

वीर अस्पतालमा त दुई वटा सिटी स्क्यान मेसिन छन्। तर अहिले दुवै चल्दैनन्। एउटा मङ्गलवारबाट बिग्रिएको हो। फिल्म नभएको भनेर अर्को सिटी स्क्यान नचलेको लामै समय भएको देखियो।

बुधवार साँझ वीर अस्पताल पुग्दा आकस्मिक कक्षमा भर्ना भएका बिरामीको समेत सिटी स्क्यान हुन नसकेको देखियो। उकेराकर्मी बुधवार साँझ करिब ६ बजे सर्जिकल भवनको पहिलो तलाको एक्स–रे विभागमा पुग्दा एक जना युवा कागज हातमा बोकेर भौँतारिरहेका भेटिए।

रामसिंह तामाङ नाम बताउने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नं. ४ का रहेछन् उनी। छिमेकी दाइ बेहोस भएपछि उनलाई लिएर बुधवार वीर अस्पताल पुगेका थिए उनी।

तामाङका अनुसार बिरामीलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरियो। चिकित्सकले बिरामीको सीटीस्क्यान गर्न सिफारिस लेखिदिए। आकस्मिक कक्षको भवनमा नै रहेको सिटी स्क्यान मेसिन बिग्रिएको छ सर्जिकल भवनमा जानु भनेछन्।

उनी सर्जिकल भवनमा पुग्दा साँझमा एक्स–रे विभागका कुनै कोठा खुला थिएनन्। एक्स–रे र सिटी कोठाहरू बन्द थिए। सोधपुछमा कोही कर्मचारी नदेखेपछि युवा भौँतारिई रहेका थिए।

‘सिटी बिग्रिएको छ भन्छ’ उनले भने,‘हामीले सिन्धुपाल्चोक जिल्लाबाट मोहन बस्नेतलाई जिताएको, स्वास्थ्य मन्त्री हुनुहुन्छ अहिले। हामीलाई त दुःख लाग्यो।’

बुधवार साँझ कालिकोट घर बताउने जिराबहादुर बस्नेत पनि वीर अस्पतालको सर्जिकल भवनमा सिटी स्क्यानका लागि भौँतारिएको भेटिए।  सिटी स्क्यान गर्ने कर्मचारी नदेखेपछि उनी अलमल परेका थिए।

कालिकोटका बस्नेत पनि बेहोस भएका काकालाई लिएर वीर अस्पताल आएका रहेछन्। बस्नेतका बिरामीलाई सर्लाहीबाट रेफर भएपछि बुधवार वीरमा ल्याइएको थियो।

‘सिटी स्क्यान छैन भनिरहेको छ, यहाँ भएन भने टिचिङमा पठाउने कुरा भइरहेको थियो,’बिरामीको भतिजा बस्नेतले भने।

वीरको १२८ स्लाईसको सिटीको सिटको बोर्ड गयो

अस्पतालमा भौँतारिरहेका यी दुई युवासँगको कुराकानीपछि उकेराकर्मी साँझ करिब साढे ६ बजे वीर अस्पतालको पुरानो भवनको भुईँ तलाको सिटी स्क्यान गर्ने ठाउँमा पुग्दा सिटी स्क्यान भएको ११५ नम्बर कोठाको ढोका बन्द थियो। सिटी स्क्यान कक्षमा कर्मचारी थिएनन्।

केही बिरामी अनि बिरामीका आफन्त बन्द कोठा बाहिर सिटी गर्न चिकित्सकले सिफारिस गरेको कागज हातमा समाएर उभिइरहेका थिए।

वीरको ११५ नम्बर कोठामा भएको सिटी मेसिन फिलिप्स कम्पनीको १ सय २८ स्लाइसको हो। रेडियोलोजी विभागका एक कर्मचारीसँग कुरा गर्दा उनले मङ्गलवार दिउँसोबाटै सिटी स्क्यानको ‘पावर सप्लाई’ गर्ने बोड बिग्रिएर मेसिन नचलेको बताए।

फिलिप्स कम्पनीको १ सय २८ स्लाइसको सो मेशिनको २ वर्षको वारेन्टी सकिएको करिब तीन वर्ष भइसकेको छ। यो करिब पाँच वर्ष पुरानो मेसिन हो। मेसिन बिग्रिए अस्पतालकै खर्चमा बनाउनुपर्छ।

एक वर्ष अघि मुसाले तार काटेर बन्द भएको मेसिन दुई पटक बनाइएको थियो। पहिलो पटक तार काटेको चार महिना पनि नपुग्दै पुनः मुसाले तार काटेको भन्दै मेसिन दोस्रो पटक समेत थन्काइयो। त्यो बेला नेदरल्याण्डबाट तार ल्याएर बनाइएको थियो।

वीर अस्पतालमा बन्द रहेको सिटी स्क्यान गर्ने कोठा।

२०७७ चैतमा पङ्खामा समस्या आएर त्यो सिटी बिग्रिएको थियो। बिग्रिएको १४ दिनमा आठ लाख खर्च गरेर पङ्खा बन्यो तर तीन दिन मात्र टिक्यो। पङ्खा बनाएको तीन दिनमै मेसिन चल्न छाड्यो। कर्मचारीले मुसाले काट्यो भने। त्यसपछि २०७८ वैशाखमा सिटी चलेको थियो।

सिटीबारे जिज्ञासा राख्दा वीर अस्पतालका उपसचिव सागर मिश्रले मेसिन बनाउन इन्जिनियर आएको र बनाइरहेको दाबी गरे।

सर्जिकल भवनको सिटीको फिल्म नै छैन

वीरको सर्जिकल भवनमा १६ स्लाइसको सिटी स्क्यान मेसिन छ। तर त्यसको फिल्म छैन। मेसिन चले पनि फिल्म नभएपछि के काम लाग्यो र! आकस्मिक रूपमा सिटी स्क्यान गरेर पेन ड्राइभमा रिपोर्टसम्म दिने गरेको एक कर्मचारीले बताए।

तर, बुधवार साँझको स्थितिलाई हेर्दा भने आकस्मिक रूपमा सिटी स्क्यान गर्नु पर्ने बिरामीलाई समेत सिटी गरेको देखिएन। न त सिटीका लागि अस्पतालको सर्जिकल भवनमा कर्मचारी नै देखिए।

लामो समय बिग्रिएर थन्किएको १६ स्लाइसको सो पुरानो सिटी केही महिना अघि मात्रै बनाएपछि सञ्चालनमा आएको थियो। यो करिब आठ वर्ष अघि खरिद भएको मेसिन हो। यो पुरानो किसिमको मेसिनमा सबै किसिमको सिटी हुँदैन।

अस्पतालका उपसचिव सागर मिश्रले यो मेसिनको भने फिल्म सकिएको पुष्टि गर्दै फिल्म खरिदको प्रक्रियामा रहेको र केही दिनमा नै फिल्म आउने जानकारी दिए। यसरी फिल्मको व्यवस्थापन समेत गर्न नसकेर बिरामीको सिटी स्क्यान नै रोकिनु अस्पताल प्रशासन तथा नेतृत्वको गम्भीर लापरबाही हो।

ट्रमामा चौथो पटक ट्युब बिग्रियो

वीर अस्पतालपछि उकेराकर्मी साँझ करिब सात बजे राष्ट्रिय ट्रमा सेन्टर पुग्दा दोस्रो तलामा रहेको सिटी स्क्यान गर्ने कोठा बन्द थियो। कर्मचारी कोही थिएनन्।

ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालसँग सम्पर्क गर्दा उनले ट्युब बिग्रिएकाले करिब एक हप्तादेखि सिटी स्क्यान मेसिन नचलेको जानकारी दिए। तर, वारेन्टी समय नै भएकाले सप्लायर्स कम्पनीले उसैको खर्चमा नै ट्युब ल्याएर फेरिदिने उनले बताए।

करिब एक हप्तामा ट्युब आइपुग्ने कम्पनीले जानकारी दिएको डा. रिजालको दाबी छ। ‘वारेन्टी भित्रै छ। आज कुरा गर्दा एक हप्ताभित्र आईपुग्छ, (जर्मनबाट) हिँडिसक्यो  भन्नु भएको छ,’डा. रिजालले भने।

तीन महिना अघि चैतमा मात्रै यूपीएस बिग्रिएकाले केही  समय मेसिन थन्किएपछि यूपीएस फेरेर मेसिन चलाइएको थियो। अस्पताल स्रोतका अनुसार त्यो बेला पाँच लाख भन्दा कम मूल्यमा यूपिएस फेरिएको हो। ट्रमा सेन्टरमा दैनिक २० देखि ३५ जनासम्मको सिटी स्क्यान हुने गरेको छ।

ट्युब बिग्रदा ट्रमा सेन्टरमा थन्किएको सिटी मेसिन।

यो सहित ट्रमा सेन्टरको सिटीको ट्युब चौथो पटक बिग्रिएको हो। सिटीको तेस्रो पटक ट्युब बिग्रिएर फेरिएको करिब दुई वर्ष भएको छ। २०७८ साउनमा तेस्रो पटक ट्युब फेरिएको थियो। वारेन्टी भएको समयभित्र ट्युब बिग्रिएकाले तेस्रो पटक भने कम्पनीकै खर्चमा ट्युब बनाइदिएको ट्रमा सेन्टरका तत्कालीन निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिएको थिए।

दोस्रो पटक ट्युब बिग्रँदा करिब ८१ लाख खर्च गरेर सिटीको ट्युब फेरिएको थियो। दोस्रो पटक ट्युब फेरेको करिब चार महिनामा नै तेस्रो पटक ट्युब बिग्रिएको थियो। ट्रमा स्रोतका अनुसार करिब साढे तीन वर्ष अघि पहिलो पटक ट्युब बिग्रँदा करिब ८० लाख खर्च गरेर ट्युब फेरिएको थियो।

यसरी हेर्दा प्रत्येक पटक औसत ८० लाखका दरले दुई पटक ट्युब फेर्दा ट्रमा सेन्टरले सो सिटीको ट्युब फेर्न मात्रै एक करोड ७० लाख रकम खर्च गरिसकेको देखिन्छ।

१६ स्लाइसको सिमेन्स कम्पनीको ट्रमा सेन्टरको यो सिटी स्क्यान मेसिन भारतले आर्थिक वर्ष २०७१-०७२ मा ट्रमा सेन्टर स्थापना हुँदा नै अनुदानमा दिएको थियो। त्यो बेला यो मेसिनको मूल्य करिब चार करोड २८ लाख थियो।

निजामती अस्पतालमा पाँच महिनादेखि सिटी ठप्प

उता निजामती कर्मचारी (सिभिल) अस्पतालमा समेत गत फागुन ११ गतेदेखि बिग्रिएको सीटीस्क्यान मेसिन पाँच महिना बित्न लाग्दासमेत बनेको छैन। जसले गर्दा सिटी स्क्यान गर्नुपर्ने बिरामी अन्यत्र जान बाध्य छन्।

यूपीएस बिग्रिएकाले सिटी स्क्यान मेसिन नचलेको अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलको बताए। २५६ स्लाइसको सो सिटी जिइ कम्पनीको हो।

यूपिएस खरिदका लागि टेन्डर समेत भइसकेको र असार २० गतेभित्र यूपिएस आइसक्ने पर्ने भए पनि कम्पनीले हालसम्म नल्याइदिएको कार्यकारी निर्देशक डा. पौडेलले दाबी गरे।

‘टेन्डर गरेको हो। (यूपिएस) इन्डियाबाट ल्याउनु पर्ने, आएको छैन,’उनले भने,‘सप्लायर्सले ढिलो गरिदिएको छ।’

करिब २२ लाखमा यूपिएस ल्याउने गरी टेन्डर समेत स्वीकृत भए पनि सप्लायर्सले नल्याइदिँदा अस्पताललाई मर्का परिरहेको कार्यकारी निर्देशक डा. पौडेलले तर्क गरे। ‘बिरामीले दुःख पाए, भित्र भर्ना भएका ७-८ जना बिरामी बाहिर जानुपर्छ’,उनले भने।

मेसिनको वारेन्टी कै समय भए पनि मेसिन दिने कम्पनीले अस्पतालको लापरबाहीका कारण युपिएस बिग्रिएको भन्दै मर्मतको खर्च अस्पतालले नै बेहोर्नुपर्ने बताएपछि अस्पताल नै खरिद प्रक्रियामा गयो।

सिभिल अस्पतालमा सिटी गर्न नसिकने सूचना।

निजामती अस्पतालमा दैनिक ३०-३५ जना बिरामीको सिटी स्क्यान हुने गरेको थियो। तर, सिटी स्क्यान मेसिन बिग्रँदा बिरामीलाई वीर अस्पताल लगायत अन्य अस्पतालमा पठाउनु परेको थियो। तर, वीर र ट्रमा सेन्टरमा समेत सिटी चलेको छैन।

टेकुमा पनि चलेको छैन सिटी

अर्को सरकारी अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोगमा पनि सिटी स्क्यान मेसिन चलेको छैन। अस्पतालका सूचना अधिकारी भक्तबहादुर खड्काले असारको तेस्रो सातामा सिटी बिग्रिएको जानकारी दिए।

सिटीमा के समस्या भएको हो भन्ने विषयको प्राविधिक टोलीले अध्ययन गरिरहेको र समस्या पहिचान भएपछि तुरुन्तै बनाउने प्रक्रिया सुरु हुने उनको दाबी छ। प्रारम्भिक रूपमा हेर्दा मेसिन बनाउनका लागि केही खर्चिलो हुने देखिएको उनले बताए।

‘असारको २२-२३ तिर बिग्रेको हो। के समस्या भएको हो भन्ने विषयमा प्राविधिक टोलीसँग सम्पर्क भइरहेको छ,’सूचना अधिकारी खड्काले भने,‘समस्या पहिचान भइसकेपछि बनाउने प्रक्रियामा जान्छ।’

खड्काको भनाइलाई आधार मान्दा पनि टेकुमा सिटी स्याक्यान मेसिन चल्न अझै केही समय लाग्ने देखिन्छ।

यसले काठमाडौँका प्रमुख ठुला चार अस्पताल सिटी स्क्यान विहीन रहने समय निश्चित देखिएन। धन्न शिक्षण अस्पताल महाराजगन्जमा भने सिटी चलिरहेको छ। सो अस्पतालमा जम्मा दुई वटा मात्र सिटी स्क्यान मेसिन छ।

साउन ४, २०८० बिहीबार २२:५८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।