सुन तस्करीको सङ्गठित अपराधमा राजश्व छलीमा मात्र अनुसन्धान, कर्नरमा प्रहरी

सुन तस्करीको सङ्गठित अपराधमा राजश्व छलीमा मात्र अनुसन्धान, कर्नरमा प्रहरी

काठमाडौँ : मङ्गलवार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सिनामंगल क्षेत्रमा बा २ ज २३२४ नम्बरको ट्याक्सी रोक्यो। ट्याक्सीमा थिए चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राई।

विभागको टोलीसँगै सादा पोसाकमा रहेको सशस्त्र प्रहरी बलको प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर ललितपुरको हरिहरभवनमा लग्यो।

ट्याक्सीमा रहेको सामान क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ-काठमाडौं उडानबाट नेपाल भित्रिएको थियो।

भन्सार पास भएको सामानको प्रकारमा स्कुटर र मोटरसाइकलको ब्रेकशु उल्लेख थियो। त्यसभित्र सुन रहेको सूचनाको आधारमा परिचालित टोलीले  बुधवार एक सय किलो बढी सुन फेला परेको सूचना सार्वजनिक गर्यो।

नेपालमा सुन तस्करी नौलो हैन,पञ्चायतबाटै चल्दै आएको धन्दा हो। मंगलवारको अप्रेसनको विशेषता भनेको विभागले गरेको यो अहिलेसम्मकै ठूलो अप्रेशन हो।

यस अगाडि भन्सार छलेर भित्रिने सुन प्रहरीले नियन्त्रणमा लिँदै आएको थियो। प्रहरीले अनुसन्धान सकाएर राजश्व छलीमा विभागले अनुसन्धान गर्थ्यो।

तर यो अप्रेसनबारे प्रहरीले चालै पाएन। विभागले आफ्नो सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीको सहयोग लिइरहेको छ अप्रेसनभरि। बिहीबार पनि सुन जोख्न लैजानेदेखि शंकास्पद पक्राउसम्म सशस्त्रकै कर्मचारी खटिए, बन्दुक तेर्स्याउँदै।

सय किलो बढी सुन तस्करी गरेको आरोपमा बिहीबारसम्म चार नेपालीसहित ६ जना पक्राउ परेकाहरूमाथि विभागले नै म्याद माग्यो अदालतसँग। अनि उच्च अदालत पाटनले विभागलाई नै अनुसन्धान गर्न १० दिनको समय दियो।

विभागले बुधवार ५३ वर्षीय रामकुमार भुजेल, २१ वर्षीय दिलीप भुजेल, ४९ वर्षीय हर्कराज राई र तिब्बती मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङलाई पक्राउ गरेको थियो।

मंगलबार ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राई पक्राउ परेका थिए। बिहीबार नै प्रहरीले थप एक चिनियाँ नागरिक लिङ चुवानलाई पक्राउ गर्यो।

तस्कर समूह चिनियाँ कि भारतीय ?

नेपालमा भएका सुन तस्करीका घटनाका आधारमा सुन तस्करीमा नेपालीसँगै भारतीय र चिनियाँ अलग अलग सक्रिय देखिँदै आएका छन्। 

दुवैले नेपालमा हवाई मार्ग हुँदै हङकङ या दुबईबाट नेपालमा सुन भित्र्याएर स्थलमार्ग हुँदै भारत र तिब्बत पुर्याउने गरेको देखिन्छ। 

भारतीय समूहमा नेपालमा सुन अनि घरजग्गा कारोबारमा संलग्नसँगै प्रहरीसमेत जोडिने गरेका छन्। राजनीतिक रूपमा भारतीय सुन तस्कर समूहसँग एमाले र कांग्रेसका नेता जोडिने गरेका छन्। 

विशेषतः जब भारतमा नोट बन्दी सुरु हुन्छ अनि भारतीय समूह बढी सक्रिय हुन्छन्। उनीहरू पटक पटक तस्करी गर्छन् तर सानो परिणाममा।

सङ्गठित रूपमा भन्सारदेखि प्रहरीसम्म सेटिङ मिलाउँछन्। तस्करीको सुन भित्र्याएर काठमाडौँमा स्टोर गर्दै स्थलमार्गबाट भारत पुर्याउँछन्। 

चिनियाँ समूहको कनेक्सन  माओवादी नेताहरूसँग देखिन्छ। उनीहरू विशेष ठमेल क्षेत्रलाई आधार बनाएर तस्करीको काम गर्छन्। नेपाली नागरिक भरियाका रूपमा संलग्न हुन्छन्।

उनीहरूको सीधा सम्बन्ध प्रहरीमा अहिलेसम्मको अनुसन्धानमा खुल्न सकेको छैन। उनीहरू सुन भित्र्याएर स्टोर नगरी स्थलमार्गबाट रसुवा नाका हुँदै सुन तिब्बत पुर्याउँछन्।

अहिलेसम्मको अनुसन्धानमा बिहीबार पक्राउ परेका चिनियाँ नागरिक नै यो समूहको मुख्य नाइके देखिएको छ। 

सुनदेखि जग्गा कारोबारीसम्म तस्करीमा

करिब एक अर्ब बराबरको सुन सहजै भन्सार पास भएकाले तस्करीमा संगठित समूहको संलग्नता देखिन्छ।

यस अगाडिका सुन तस्करीमा सुन व्यापारको आवरणमा रहेकादेखि जग्गा कारोबारीसम्म तानिएका थिए। प्रहरीसम्म सुन तस्करी गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेर जागिरसमेत गएको थियो।

यस अगाडिको ३३ किलो सुन तस्करीको अनुसन्धानले त हाउजिङ व्यवसायीदेखि नेतासम्मको धन्दा खुलायो। धेरैको पोल खुल्ने भएपछि प्रतिवेदनै गोप्य राखियो।

३३ किलो सुन तस्करीमै विमल पोद्दार, महावीर गोल्यान, राजकुमार दारुका, सञ्जय खेतान,प्रभात अग्रवाललगायत पक्राउ परेका थिए। ३८ क्विन्टलसम्म सुन तस्करी भएको खुलेको यो समूहमा भुजुङ गुरुङसमेत देखिए। तस्करी भरियाका नाइके चूडामणि उप्रेती 'गोरे' देखिएका थिए।

यस अगाडि प्रहरीले ठमेलमा ८८ किलो सुन बरामद गरेपछि चिनियाँ समूह केही सेलाएको देखिएको थियो। तर पछिल्लो समय भने सुन तस्करीमा चिनियाँ नागरिकको संलग्नता क्रम बढ्दो देखिन्छ।

गृह प्रशासनलाई बाइपास

भन्सार छलीसम्बन्धी अनुसन्धानको क्षेत्राधिकार विभागको हो। विभागमा आन्तरिक सुरक्षाका लागि सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा ५५ जनाको समूह छ। उनीहरूले अपराध अनुसन्धान भने गर्दैनन्। विभागको ब्याकफोर्स मात्रै हुन् उनीहरू।

विभागले सय किलो बढी तस्करी भएको सुनको अनुसन्धान क्रममा आवश्यक सुरक्षा व्यवस्थामा त्यही सशस्त्र प्रहरीकै सहयोग लिइराखेको छ। प्रहरीले बिहीबारसम्म पनि  यसबारे औपचारिक जानकारी पाएको देखिएन।

तस्करीको सुन राष्ट्र बैंकको टक्सारमा जोख्न लैजाँदै सशस्त्र प्रहरी। तस्बिर : फोटो लाइब्रेरी।

'समाचारमा आएका विवरणका आधारमा हामीले घटनाबारे जानकारी पाएका हौँ,' केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले उकेरासँग भने', यसबारे हामीलाई औपचारिक जानकारी आएको छैन। प्रहरी यसको अनुसन्धानमा अहिलेसम्म संलग्न छैन।'

यसले सुन तस्करीको अनुसन्धानको नेतृत्व विभागका प्रमुख नवराज ढुंगानाले नै गरिरहेको पुष्टि हुन्छ।

को हुन् ढुंगाना ?

नवराज ढुंगाना प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का विश्वासिला व्यक्ति हुन्। विभाग प्रमुखमा सरुवा हुनु अगाडि उनी प्रधानमन्त्री प्रचण्डको सचिवालयमा थिए। उनी असार १२ मा मात्र विभागको प्रमुखमा सरुवा भएका हुन्।

विभाग अहिले प्रधानमन्त्री कार्यालयमातहत नै छ। राजश्व छलीको अनुसन्धानको कार्यक्षेत्र विभागकै हो। तर संगठित अपराधको अनुसन्धानको कार्यक्षेत्र प्रहरीको हो।

सुन तस्करी राजश्व छलीसँगै गम्भीर संगठित अपराधसमेत हो। यस्तो प्रकृतिको अपराधको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्दै आएको छ।

इलेक्ट्रिक चुरोट 'भेप'को आवरणमा भन्सारमा आएर हराएको नौ किलो सुनको अनुसन्धान सीआईबीले गरेको थियो।

ठमेल क्षेत्रमा फेला परेको ८८ किलो सुन या सनम शाक्य हत्यासँग जोडिएको ३३ किलो सुनको अनुसन्धान होस्, गृह प्रशासनै जोडिएको थियो।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ एकै पार्टीका नेता हुन्। तै पनि यो प्रकरणमा प्रहरी युनिटलाई सुन तस्करीको अनुसन्धानबाट टाढै राखियो।

बदमास भन्सार कर्मचारी 

एक सय किलो सुन भन्सारबाट जाँच पास भएर बाहिरिएपछि लाज जोगाउन भन्सार विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्यो। समितिले काम गर्दै जाला।

तर भन्सारबाट सहजै सुन पास भएर बाहिरिएको न यो पहिलो घटना हैन, न भन्सारमा सुधार नभएसम्म अन्तिम नै हुने देखिन्छ।

यस अगाडिका आधा किलोदेखि ८८ किलोसम्म सुन तस्करी भन्सारबाटै भित्रिएको पुष्टि भइसकेको छ। इलेक्ट्रिक चुरोट 'भेप'को आवरणमा भन्सारमा आएर हराएको नौ किलो सुन तस्करीमा समेत भन्सारकै कर्मचारीहरू पक्राउ परेका थिए।

३३ किलो सुन तस्करीमा त भन्सारदेखि विमानस्थलका कर्मचारीहरू समेत जोडिए। गम्भीर अपराधमा पटक-पटक भन्सार जोडिन्छ। अनुसन्धान पनि हुन्छ। तर सुधार कहिल्यै देखिँदैन। भन्सार छलिएर सुन भित्रिरहन्छ।

साउन ४, २०८० बिहीबार २१:३६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।