चितवन राष्ट्रिय निकुञ्जमा अहिलेसम्मकै सबैभन्दा बढी पर्यटक

चितवन राष्ट्रिय निकुञ्जमा अहिलेसम्मकै सबैभन्दा बढी पर्यटक

चितवनः चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा दुई लाख ९९ हजार चार सय १२ पर्यटक भित्रिएका छन्।

यो संख्या हालसम्मको सबैभन्दा बढी हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये दुई लाख पाँच हजार छ सय पाँच नेपाली, ५५ हजार आठ सय ७२ विदेशी र ३७ हजार नौ सय ३५ सार्क राष्ट्रका पर्यटक छन्। 

गत आर्थिक वर्षमा पर्यापर्यटनबाट २२ करोड ९३ लाख ९५ हजार नौ सय ५० राजस्व संकलन भएको छ। आव २०७८र७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए। यो आवमा ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व संकलन भएको थियो। 

यसैगरी आव २०७७र७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व संकलन भएको थियो। आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। सो आवमा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व संकलन भएको थियो। 

तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि निकुञ्जमा पर्यटकको तथ्यांक राख्न थालिएको हो। त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्यांक छ।

यसबाट एक लाख ४० हजार दुई सय ९८ राजस्व संकलन भएको थियो। दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो। 

पर्यटकको संख्याका हिसाबले गत आर्थिक वर्ष हालसम्मकै बढी हो। राजस्वको हिसाबले भने आव २०७५/७६ मा संकलन भएको २९ करोड ४४ लाख ६६ हजार छ सय ४० अहिलेसम्मको सबैभन्दा बढी हो। 

४ साउन, २०८०, २१:११:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।