कोशीका ११ जिल्लामा फैलियो डेंगु, सुनसरीमा सबैभन्दा बढी

कोशीका ११ जिल्लामा फैलियो डेंगु, सुनसरीमा सबैभन्दा बढी

विराटनगर : लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ।

एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको संक्रमण फैलिन्छ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेंगु फोकल पर्सन) विवेचना चौलागाईंका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा दुई सय ४० जना डेंगुका बिरामी फेला परेका छन्।

उनका अनुसार यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेंगु रोगीको संख्या तीन सय १२ जना पुगिसकेको छ। मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेंगु फैलिएको पाइएको छ।

गर्मी र बर्खायाममा डेंगु फैलिने गरेको छ। डेंगुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन्। सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेंगुका बिरामीको उपचार भइरहेको छ।

पछिल्लो सातामात्रै सुनसरीमा ५३, मोरङमा नौ, झापामा चार, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेंगुका बिरामी फेला परेका छन्।

कोशी प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेंगुका बिरामी भेटिएका छन्। सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन्। कोशी प्रदेशभर पाइएका डेंगुका बिरामीको दुईतिहाइ संख्या सुनसरीमा नै छन्।

स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य निरीक्षक कुलप्रसाद पौडेलले झापामा बिरामी देखिन थालेको बताए। प्रादेशिक अस्पताल भद्रपुरमा डेंगुका बिरामीको उपचार भइरहेको र डेंगु फैलिन नदिन जनचेतना कार्यक्रम सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए। 

आम ज्वरोभन्दा निकै तीव्र ज्वरो आउनु डेंगुको लक्षण हो। खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेंगुका बिरामीमा देखिन्छन्।

साउन ४, २०८० बिहीबार २०:२८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।