उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा ६० प्रतिशत मात्र मुद्दा फर्छ्योट, कर्मचारी अभावले कमी

उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा ६० प्रतिशत मात्र मुद्दा फर्छ्योट, कर्मचारी अभावले कमी

बुटवल :उच्च अदालत तुल्सीपुर, बुटवल इजलासले आर्थिक वर्ष ०७९/०८० मा जम्मा ६०.३२ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ।

अदालतले बिहीबार अदालत परिसरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। 

२०८० असार मसान्तसम्ममा अदालतमा परेका मुद्दाको विवरण र फर्छ्योट भएका/नभएका मुद्दाहरूको प्रगतिबारे अदालतका रजिष्ट्रार अच्युत कुइँकेलले  एक वर्षको अवधिमा २३ सय ४६ वटा मुद्दा फर्छ्योट भएको जानकारी गराए। 

०७९/०८० मा १६ सय ५३ वटा मुद्दा फर्छ्योट हुन बाँकी रहेका थिए, भने नयाँ दर्ता २१ सय २२ गरी ३७ सय ७५ वटा मुद्दामा जम्मा २३ सय ४६ वटा फर्छ्योट भएको जानकारी गराइएको छ। 

वार्षिक रूपमा २४ सय ५४ मुद्दा फर्छ्योट गर्ने उच्च अदालत तुल्सीपुर, बुटवल इजालसको लक्ष्य भए पनि पूरा हुन नसकेको कुइकेलले बताए। 

उनका अनुसार आर्थिक वर्ष ०७९/०८० मा दर्ता भएका मुद्दामध्ये १५ सय ४३ वटा फर्छ्योट हुन बाँकी छन्। 

त्यसै पत्रकार सम्मेलनमा उच्च अदालत तुल्सीपुर, बुटवल इजालसका न्यायाधीश नित्यानन्द पाण्डेयले अदालतमा मुद्दाहरूको संख्या बढेको बताए। 

कार्यसम्पादनमा कमी नभए पनि प्रत्येक अदालतमा संख्यात्मक रुपले मुद्दाहरू बढ्दै गएको उनको भनाइ थियो। 

उनले कर्मचारी अभाव र भवन व्यवस्थित नहुँदा लक्ष्यअनुसार मुद्दा फर्छ्योट हुन नसकेको बताए। तर कार्यसम्पादनमा कमी आउन नदिएको पनि उनले दाबी गरे। 

नयाँ शासन प्रणालीमा संघीय, प्रदेश र स्थानीय सरकारबीच काममा समस्या उत्पन्न हुँदा पनि मुद्दाको संख्या बढेको न्यायाधीश पाण्डेयको भनाइ छ।

उच्च अदालत तुल्सीपुर, बुटवल इजालसअन्तर्गत जिल्ला रुपन्देहीसहित अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, र पाल्पामा फर्छ्योट भएका मुद्दाहरूको संख्या र प्रतिशत पनि सार्वजनिक गरिएको छ।

आर्थिक वर्ष ०७९/८० मा रुपन्देहीमा ८३ सय ९४ वटा मुद्दामा ४८ सय ६० वटा फर्छ्योट भएका छन् भने ३५ सय ३४ वटा फर्छ्योट हुन बाँकी छ। रुपन्देहीमा ५७.८९ प्रतिशत मुद्दा फर्छ्योट भएका छन्।

त्यस्तै अर्घाखाँचीमा ४७.७० प्रतिशत मुद्दा फर्छ्योट भएका छन्। जिल्लामा ५ सय २७ मध्ये २ सय ५१ मुद्दा फर्छ्योट भएका हुन्।

कपिलवस्तुमा भने ४४ प्रतिशत मात्रै मुद्दा फर्छ्योट भएका छन्। ४१ सय ८१ वटा मुद्दामा १८ सय ४० वटा फर्छ्योट भएका छन्। यस्तै गुल्मीमा ८०.८९ प्रतिशत मुद्दा फर्छ्योट भएका छन्। ७ सय १२ मुद्दामध्ये ५ सय ७६ वटा फर्छ्योट भएका हुन्। 

यस्तै नवलपरासीमा ५०.५२ प्रतिशत मुद्दा फर्छ्योट भएका छन्। ३५ सय ३३ मुद्दामध्ये जिल्लामा १७ सय ८५ मुद्दा फर्छ्योट भएका छन्। 

पाल्पामा ७२ प्रतिशत मुद्दा फर्छ्योट भएका छन्। १ हजार १६ वटा मुद्दामा ७ सय ३१ वटा फर्छ्योट भएका छन्। 

साउन ४, २०८० बिहीबार १९:२६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।