किशोरी बलात्कार घटनाप्रति माफी माग्दै एलओडीले भन्यो : घटनाप्रति दुःखी छौँ, कानुन पूर्ण रूपमा पालना गर्छौँ

किशोरी बलात्कार घटनाप्रति माफी माग्दै एलओडीले भन्यो : घटनाप्रति दुःखी छौँ, कानुन पूर्ण रूपमा पालना गर्छौँ

काठमाडौँ : ठमेलस्थित एलओडी क्लबले कानुनभन्दा माथि कोही पनि नरहने बताएको छ।

कानुनको परिधिभित्र रहेर व्यवसाय गरेको क्लबले प्रस्ट पारेको हो।  केही साताअघि एलओडी क्लबमा आएकी किशोरीलाई एक पुरुषले ललितपुरमा लगेर बलात्कार गरेका थिए। 

सोही घटना सार्वजनिक भएपछि नाबालिक किशोरीलाई प्रवेश दिएको भन्दै सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। बिहीबार क्लबले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै किशोरीमाथि भएको घटनाप्रति दुःख व्यक्त गरेको हो।

पीडित र परिवारप्रति क्लबको सदा साथ रहने प्रतिबद्धतासमेत जाहेर गरेको छ। 

क्लबले कानुनको पालना गर्न सधैँ तयार रहेको बताएको छ। 'हामी कानुनभन्दा माथि छैनौँ। कानुनको परिधिभित्र रहेर व्यवसाय गरेका छौ र गर्नेछौ। हरेक कुराको सुरक्षा गर्न क्लब कटिबद्ध छौँ। हामी आफूलाई जवाफदेही बनाउँछौं,' जारी विज्ञप्तिमा भनिएको छ। 

'सामाजिक न्याय र लैङ्गिक समानता प्रति प्रतिबद्ध छौँ। जुन कुराले आजसम्म हामीलाई दुःखित बनाएको छ। सदा पीडित किशोरी र परिवारप्रति हाम्रो सदा साथ रहनेछ,' क्लबले भनेको छ, 'यो दुभाग्यपूर्ण घटना क्लब परिसरमा भएको थिएन। क्लबभन्दा बाहिर भयो। केही कमी कमजोरी क्लब व्यवस्थापनको तर्फबाट भएको छ। घटना क्लबभित्र भएको भए त्यसको सम्पूर्ण जिम्मा लिन सदा तयार छौँ।  कानुनको पालना गर्दागर्दै कोहीबेला हामीबाट थोरै चुक्न पुगेका छौँ। यसमा क्षमा चाहन्छौ।'

घट्ना हुँदासम्म क्लबले थाहा नभएको बताएको छ। 'प्रहरीकोमा घटना दर्ता भएपछि मात्र थाहा पायौँ। जुन घटनाले हामीलाई दुःखी बनाएको छ,' क्लबले जारी गरेको विज्ञप्तिमा लेखिएको छ। 

क्लबले कर्तव्य, मूल्य मान्यता, सामाजिक दायित्व र सीमाभन्दा बाहिर गएको महसुस भइसककेको बताएको छ। यस्ता घटनाबाट पाठ सिक्ने र घटना फेरि नदोहोरियोस् भनेर सचेत र सजग भइसकेको क्लबको भनाइ छ। 'हाम्रो  जिम्मेवारी कहिले पनि पन्छिने छैनौँ,' क्लबले भनेको छ। 

क्लबका अनुसार १८ वर्षमाथिकालाई प्रवेश अनुमति छ। कुनै पनि नाबालिग किशोर-किशोरीलाई क्लबमा प्रवेश गर्न अनुमति छैन। उमेर खुल्ने परिचय पत्र अनिवार्य छ। कर्मचारीले आवश्यक र शंका लागेमा ग्राहकलाई जुनसुकै समयमा परिचयपत्र माग्न सक्छन्।

एलओडीले सधैँ आफ्ना कर्मचारी र ग्राहकको सुरक्षालाई प्राथमिकतामा राखेको छ। क्लबले ग्राहकलाई अतिथि र कर्मचारीलाई परिवार सम्झेर व्यवहार गरिरहेको स्मरण गराएको छ। 'हाम्रो प्राथमिकतामा सबै अतिथिहरूका लागि सुरक्षित वातावरण उपलब्ध गराउनु हो,' विज्ञप्तिमा लेखिएको छ।

क्लबले सार्वजनिक क्षेत्र कभर गर्ने गरी सीसी क्यामेरा जडान गरिएको बताएको छ। 'प्रविधिले हामीलाई क्लबभित्र र बाहिरका गतिविधिहरूलाई नियाल्न सहज भएको छ। जसले अवाञ्छित गतिविधिलाई रोक्न नियन्त्रण गर्ने क्लबको विश्वास छ।'

क्लब जानेहरूको सुरक्षा गर्न पनि तयार रहेको जनाएको छ। क्लबले सबैको सुरक्षा गर्नु आफ्नो जिम्मा रहेको पनि बताएको छ। 'सुरक्षित र मनोरञ्जन वातावरण बनाउन र काठमाडौँ बाहिरका पाहुना, स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न सधैँ आतुर छौँ,' विज्ञप्तिमा भनिएको छ। 

साउन ४, २०८० बिहीबार १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।