कानुन उल्लंघन र बेथितिलाई यो सरकारले छुट दिंदैन : गृहमन्त्री श्रेष्ठ

कानुन उल्लंघन र बेथितिलाई यो सरकारले छुट दिंदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लंघन तथा स्वच्छ बजार प्रवर्द्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताएका छन्।

उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा गृह मन्त्रालयमा आज आयोजित छलफलमा उनले उपभोक्ता हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने बताए।

‘कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट दिंदैन। गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकता पूरा गर्न पाउने उपभोक्ताको अधिकार हो,’ उनले भने। उनले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताए।

‘अनुगमनलाई कसरी प्रभावकारी बनाउने, कालोबजारी र नक्कली वस्तुलाई नियन्त्रण गर्ने, उपभोक्ताले कसरी गुणस्तरीय वस्तु सहज ढङ्गले उचित मूल्यमा प्राप्त गर्ने विषयलाई केन्द्रमा राखेर काम गर्ने छौं,’ उनले भने।

‘सरकार सुशासनलाई पूर्वसर्त बनाएर अगाडि बढिरहेको छ। सुशासनबाट नै समृद्धिको लक्ष्यलाई साकार रुप दिन सकिन्छ,’ उनले थपे।

साउन ४, २०८० बिहीबार १७:१२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।