बन्दुकभन्दा बढी क्यामेरा बोकेका सिपाहीः जसले माओवादीको एम्बुसमा पर्दा पनि भिडियो खिच्न छाडेनन्
काठमाडौं : खोटाङको दिक्तेलमा २०१८ सालमा जन्मिएका हुन् मान बहादुर थापा।
सामान्य परिवारमा जन्मिएका थापाले गाउँकै सरस्वती हाई स्कुलबाट ३६ सालमा एसएलसी दिए। एसएलसी दिएपछि जागिरको सिलसिलामा भागेर काठमाडौं आए।
काठमाडौं आएपछि जागिरको खोजीमा भौँतारिएका थापा र उनका साथी नेपाल आर्मीमा भर्ती भए। नागरिकता नै नभई बुबा र हजुरबुबाको नाम लिएपछि सजिलै आर्मीमा भर्ना लिने चलन थियो त्यसबेला।
पञ्चायतकाल, ४६ सालको आन्दोलन र माओवादीको सशस्त्र द्वन्द्व सबै समयको अनुभव बटुलेका मानबहादुर शान्ति सेनामा विदेश पनि गए।
२३ वर्ष आर्मीमा जागिर खाएर अवकाश पाएका उनी अहिले भने भिडियो एडिटिङको क्षेत्रमा धेरैको गुरु बनेका छन्।बाल्यकालदेखिका अनुभव उनले उकेरासँग साटेका छन्।
एसएलसी दिएपछि भागेर काठमाडौं
घरका जेठा छोरा भएकाले उनीमाथि जिम्मेवारी अलि बढी थियो। त्यसैले दुई जना साथीसँग भागेर उनी काठमाडौँ आए।
‘म र साथी १७/१८ को थियौँ। अर्को एक जना हामीभन्दा अलिक अग्ला र १,२ वर्ष जेठा हुनुहुन्थ्यो,' उनले त्यसबेलाको पल सम्झिए, 'एसएलसी दिएको केही दिनमा भागेर हामी काठमाडौं हिँड्यौँ।’
उनका अनुसार उनीहरू हिँडेरै सात दिनमा काठमाडौं आइपुगेका थिए। काठमाडौं कस्तो छ र कता पर्छ भन्नेसमेत आफूहरूलाई त्यसबेला थाहा नभएको मानबहादुर बताउँछन्।
भालेको डाकसँगै हिँडेर ठाउँ ठाउँमा सोध्दै ७ दिनका दिन काठमाडौं आइपुगेको मानबहादुर बताउँछन्।
‘केही खानेकुरा र मैले ५० पैसा र अर्को साथीले २ रुपैयाँ बोकेका थियौँ। त्यही पैसाले किनेर र खाजाहरू खाँदै हिँडेका थियौँ,' उनले ३६ सालतिरको घटना सुनाए, ‘त्यो बेलामा बाटोका घरमा बास बस्दा कसै कसैले खानेकुरा समेत दिन्थेँ।त्यसैको भरमा काठमाडौं आइपुगेका थियौँ।’
त्यसबेला अहिलेजस्तो बाटोघाटो पनि सजिलो थिएन। काठमाडौँ आएपछि भने उनीहरूले अहिलेको थापा गाउँ नयाँ बानेश्वरमा बसे। उनीहरूले डेरा लिएका थिए, महिनाको २५ रुपैयाँ तिर्नेगरी। काम पनि भनेजस्तै पाए, ज्याला पनि राम्रै पाउँथे।
पञ्चायतकालमा सजिलै पाइन्थ्यो आर्मीमा जागिर
पञ्चायतकालमा अधिकांशले सजिलै आर्मीमा जागिर पाएका मानबहादुर बताउँछन्। उनले पनि काठमाडौँ बसाइको केही महिनामै सेनामा भर्ती हुन पाए। ३७ सालबाट उनले आर्मीको जीवन सुरु गरे।
‘काठमाडौं आएको केही महिनापछि टुँडिखेलमा आर्मीमा भर्ना खुलेको थियो। हामी तीनै जना टुँडिखेल गयौँ,’ आर्मीमा भर्ती हुँदाको समय सम्झँदै मानबहादुर भन्छन्, ‘हामी तीनै जना सेलेक्ट भयौँ। न कसैलाई भनसुन गर्नु पर्यो,न कसैलाई पैसा नै दिनुपर्थ्यो, नागरिता पनि चाँहिदैन थियो। नाम थर र बुबा हजुरबुबाको नाम भएपछि पुग्थ्यो। मैले नागरिकता त ५२ सालमा लिएको हो। पेन्सन नआउला भनेर।’
कतिपय आर्मी अफिसरले आफूले चिने जानेको कोही भए पनि आर्मीमा भर्ती गराउने चलन त्यसबेला रहेको उनी बताउँछन्। सरकारले त्यो समयमा जतिसक्दो सबैलाई रोजगार दिने गरेको मानबहादुर भनाइ छ।
त्यो समयमा उनको तलब ९५ रुपैयाँ थियो। उनका अनुसार आर्मी भर्ती भएको पाँच वर्षपछि उनले त्यहीँ प्राविधिक ज्ञानहरू लिन पाए। फोर्समा भन्दा पनि उनले टेक्निकल लाइनमा हात हाले। घर गाउँमा सानो छँदा रेडियोमा मान्छे कसरी बोल्छन् होला भनेर अचम्मित बनेका मानबहादुरले सेवामै रहँदा प्राविधिक काम गर्ने मौका पाए।
त्यसैबीच उनले क्यामेरा चलाउन, भिडियो सम्पादन गर्न सिके। उनी बन्दुक बोकेरभन्दा पनि क्यामेरा बोकेर हरेक दुर्घटनास्थलमा पुग्ने गरेका थिए।
‘मैले आर्मीभित्रै टेक्निकल लाइनमा हात हालेँ। हरेक घटनाका दृश्य खिच्थेँ। त्यो समयमा नेपालमा फोटो धुल्याउने प्रविधि भित्रिसकेको थिएन। विदेश पठाउनुपर्थ्यो,' मानबहादुर ४५ सालतिरका सम्झना सुनाउँछन्, ‘आफूले खिचेको फोटो कस्तो भएछ भनेर हेर्न केही दिन कुर्नुपर्थो।’
'सशस्त्र द्वन्द्वका फोटो र भिडियो खिच्थेँ'
नेपालमा फोटो र भिडियो खिच्ने जोकोहीको पहुँचमा थिएन त्यसबेला, जतिबेला देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो। नेपाल आर्मी र सीमित मानिसले मात्र राम्रोसँग क्यामरा चलाउने गरेका थिए। मानबहादुर आर्मीमा फोटो खिच्ने र भिडियो खिच्नेमा अब्बल मानिन्थेँ। त्यस कारण उनले विभिन्न घटनाको फोटो भिडियो खिच्ने मौका पाए।
२०४६ सालको आन्दोलनका घटनामा उनले थुप्रै फोटोहरू खिचेका छन्। उनले खिचेका फोटो भिडियोहरू हरेक मिडियाले छाप्ने गरेको थियो। त्यो समयमा आफूलाई भने फोटो खिच्न पाउँदा औधी खुशी लाग्ने गरेको मानबहादुर बताउँछन्।
२०५२ साल सुरु माओवादीको सशस्त्र द्वन्द्वका बेला उनले देशमा जहाँ भीडन्त हुन्छ त्यहाँ फोटो र भिडियो खिच्न पुगिहाल्थे। भन्छन्, 'त्यतिबेला डर भन्ने फिल नै हुँदैन थियो, हामी आर्मीलाई जुनसुकै द्वन्द्वमा भाग्नुपर्छ र मरिन्छ भन्ने डर हुँदैन। हामीलाई त्यस्तै तालिम दिएको हुन्छ।'
एम्बुसमा पर्दा पनि भिडियो र फोटो खिच्न नछाडेको उनी बताउँछन्।
उनले घोप्टे भीरमा भएको प्लेन दुर्घटनाको पनि फोटो खिचेका छन्। थाइ एयरको विमान रसुवाको घोप्टे भीरमा दुर्घटनामा परेको थियो। सन् १९९२ जुलाई ३१ मा भएको उक्त दुर्घटनामा परी ११३ जनाको ज्यान गएको थियो।
शान्ति सेनाको अनुभव
सरकारले शान्ति स्थापनार्थ मिसनका लागि नेपालबाट पनि सैनिकहरू पठाउने गर्छ। मानबहादुरले पनि सेवामा रहँदा दुई पटक शान्ति मिसन भ्याए।
‘लेवलान र इजरायलबीचको द्वन्द्व चर्कोको बेला त्यहाँको सिमानामा पुगेको छु,’ उनले २५ वर्षअघिको कुरा सम्झिए, ‘यहाँ जाँदा हामीलाई लडाईबाहेक अरू विषयमा थाहा नहुने रहेछ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला इजरायल जानुभएको रहेछ। त्यहाँको अन सोको चिफचाँहि नेपाली हुनुहुन्थ्यो। सिरियापट्टिको लडाईं हेर्ने चिफ कृष्ण नारायण सिंह थापा हुनुहुन्थ्यो। उहाँले पनि भिजिट गर्ने कुरा रहेछ। त्यस समयमा फोटोग्राफर चाहियो भनेर मलाई त्यो युद्धको एरियाबाट इजरायल लिएर आए र गिरिजाबाबुको फोटो खिचेँ।’
प्रधानमन्त्री र उच्च ओदाहाका व्यक्तित्वको फोटो खिचेपछि तत्कालीन नेपाल टेलिजिभनका जीएम दुर्गानाथ शर्माले आफ्नो अन्तर्वार्ता लिन बोलाएका मानबहादुर सम्झन्छन्।
पहिलाबाट नै थापासँग चिनजान भएकाले सामान्य कुराकानीपछि मानबहादुरले दुर्गानाथले गरेको आग्रहलाई स्वीकार गरेका थिए।
त्यसबेलाको पल सम्झिँदै मानबहादुर भन्छन्, ‘म शान्ति सेनाको पोसाकमा नै थिए। दुर्गानाथले सोधेको प्रश्नमा खासै त्यस्तो केही थिएन। घर परिवारलाई के छ कसो छ भन्ने मात्रै थियो। तर, यो कुरा प्रवक्ताबाहेक अरूले बोल्न नहुने रहेछ,मैले बोलिहालेँ। मैले बोलेको उता चिफले हेरिसकेका रहेछन्। अनि किन बोलेको भनेर मैले बोलेको कुरासमेत काट्न लगाए।’
अहिले अधिकांश भिडियो सम्पादकका गुरु
अहिले नेपालमा नाम चलेका अधिकांश भिडियो एडिटरका गुरुका रूपले चिनिन्छन् मानबहादुर। नेपाली सेनामा रहँदा सिकेको भिडियो सम्पादनदेखि फोटो खिच्ने कला उनले धेरैलाई सिकाइसके।
भन्छन्,‘मैले २ सयभन्दा बढीलाई आफूले सिकेको सीप बाँड्ने मौका पाएको छु। कतिपय मैले सिकाएकाहरू फिल्मका इडिटर क्यामेरामेन बनिसक्नुभएको छ। यो देख्दा गर्व पनि लाग्दो रहेछ।’
उनी सीपको पुस्तान्तरण हुनुपर्छ भन्ने मान्यता पनि राख्छन्।
‘हिजो हजुरबुबाका पालामा हामीलाई जे कथा र काम सिकाउनुहुन्थ्यो। त्यही सीप हामीले जान्यौँ,’उनले भने,‘मैले सिकेको सीप अरूलाई सिकाएँ भने त्यहाँबाट फेरि अर्कोले सिक्नेछ। यसले देशमा केही गर्छु भन्ने युवालाई आफै रोजगारी सिर्जना गरोस् भन्ने मेरो धारण हो।’
अहिलेको समयमा विश्वमा के भइरहेको छ र के के प्रविधि भित्रिएका छन् भन्ने कुराको अध्ययन गरिहन्छन् मानबहादुर। नयाँ प्रविधिसँग खेल्न पाइएन भने नयाँ पुस्तासँग पछि परिने उनको बुझाइ छ। त्यस कारण इन्टरनेटको सहयोगमा उनी नयाँ नयाँ अपडेटहरूमा अग्रसर भइरहन्छन्।
उकेरामा प्रकाशित हिजोका कुराका सामग्री
साउन ४, २०८० बिहीबार १७:०४:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।