सेना घटाउने कुरामा वामदेवको आपत्ति, भन्छन् : बरु सांसद घटाएर १५० बनाउनुस्

सेना घटाउने कुरामा वामदेवको आपत्ति, भन्छन् : बरु सांसद घटाएर १५० बनाउनुस्

काठमाडौं : सांसद वामदेव गौतमले नेपाली सेनालाई कमजोर आंकलन गर्न नहुने बताएका छन्। 

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा सांसद गौतमले नेपाली सेनाले अप्ठ्यारो परेका बेला देश र जनतालाई सधैं सहयोग र योगदान गर्दै आएको स्मरण गर्दै नेपाली सेनाबारे जथाभाबी अभिव्यक्ति दिन नहुने धारणा राखे।

‘नेपाली सेना राज्य शक्तिको नाम हो। सार्वभौमसत्ता, सीमाको रक्षा र राष्ट्रमा आइ पर्ने जुनसुकै विपद्मा ज्यानको बाजी राखेर परिआएको खण्डमा बलिदान दिनेगरी सेवारत नेपाली सेनालाई यसरी अपमान गर्न हुँदैन,’ उनले भने। 

‘सेनाको सङ्ख्या घटाएर त्यसबाट बचेको रकमबाट देश विकास गर्नुपर्छ’ भन्ने अभिव्यक्ति प्रति कटाक्ष गर्दै सांसद गौतमले सेनालाई कमजोर तुल्याउने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिए।

उनले भने, ‘देशलाई बलिदानी दिन तयार रहेर सेवारत सेनालाई कमजोर बनाइनुहुन्न। राज्यका चार वटा अङ्गमध्ये एउटा मात्रै अङ्ग कमजोर भए हामीले दुर्घटना बेहोर्नुपर्छ।’ 

उनले खर्च घटाउन सेना होइन प्रतिनिधिसभाका सदस्यहरुको संख्या घटाउन सकिने बताए।

‘प्रदेशसभाको के काम छ? संघीय संरचना भएको हुनाले काम छ। संविधानमा छ। तर काम के छ?’ उनले भने, ‘२७५ जनाको प्रतिनिधिसभा किन चाहिएको छ? घटाउनुस् यसलाई, २ सयमा झार्नुस्। अथवा १५०/१५१ जना बनाउनुस्।’

साउन ४, २०८० बिहीबार १६:०१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।