अन्ततः बन्द भयो सन्दीपको ‘ह्वाट द फ्लप’, पल शाहको अन्तर्वार्तापछि बनेको थियो विवादित

अन्ततः बन्द भयो सन्दीपको ‘ह्वाट द फ्लप’, पल शाहको अन्तर्वार्तापछि बनेको थियो विवादित

काठमाडौं : कान्तिपुर टीभीमा प्रसारण हुँदै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण बन्द भएको छ।

टेलिभिजनले बिहीबार फेसबुक पेजमार्फत एक सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको हो। 

‘गत असार २३, शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीति विपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं। महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं,’ सूचनामा भनिएको छ।

उक्त कार्यक्रमको गत असार २३ गते शनिबार प्रसारित एपिसोडमा अभिनेता पल शाहसँग कार्यक्रमका होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ताका दौरान बलात्कार अभियोगमा जेल गएको जस्तो संवेदनशील विषयलाई मजाक बनाएका थिए।

यसै विषयलाई लिएर सामाजिक सञ्जालमा सन्दीप क्षेत्रीसँगै कान्तिपुर टीभीको पनि व्यापक आलोचना भएको थियो। 

अन्तर्वार्तामा संवेदनशील विषयमा संवेदनहीन भएको भन्दै आलोचना खेपेपछि कान्तिपुर टीभी उक्त एपिसोड हटाउन बाध्य भएको थियो।

सन्दीपको यो कार्यक्रमको एक वर्षअघि पनि मधेसी समुदायलाई मजाक गरेको भन्दै विरोध भएको थियो। उनले मिठाईलालको भूमिकामा मधेसीलाई होच्याएको आरोप लागेको थियो। कार्यक्रम नै बन्द गर्नुपर्ने अवस्था आएपछि त्यसबेला सन्दीपले माफी मागेका थिए। 

सम्बन्धित समाचार

साउन ४, २०८० बिहीबार १४:४१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।