तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदहरूको माग

तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदहरूको माग

काठमाडौं : सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमितता बारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा उनीहरुले तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सभाध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद इन्दिरादेवी गौतमले पछिल्लो समय काठ तस्करी, खोलानालाबाट गिट्टी बालुवा उत्खनन र चोरी निकासी भइरहेको र यसबाट राज्यको करोडौं राजस्व गुमेको बताइन्। उनले तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद गोपाल भट्टराईले देशमा तस्करको बिगबिगी बढेको, भ्रष्टाचार तथा अनियमितता पनि बढेको भन्दै प्रभावकारी छानबिन गरी मौलाउँदो तस्करी र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी भएको उल्लेख गरे।

सांसद तारामान स्वाँरले सुदूरपश्चिमका सबै जसो जिल्ला र विशेषगरी कैलाली र कञ्चनपुर क्षेत्रमा लागूऔषधको तस्करी र ढुवानीकर्ताको बिगबिगी बढिरहेको बताए। उनले यसले अपराधजन्य घटनासमेत बढाइरहेको भन्दै यसलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याउन सभाध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गराए।

साउन ४, २०८० बिहीबार १४:२०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।