सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना समातिए, भन्सार जाँचपासमा संलग्न कर्मचारी निलम्बन गरिँदै

सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना समातिए, भन्सार जाँचपासमा संलग्न कर्मचारी निलम्बन गरिँदै

काठमाडौँ : राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन्। 

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। पक्राउ परेकाको पहिचान खुलाइएको छैन।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो। त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए। 

सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो। 

यसैबीच यस प्रकरणमा छानबिन गरेको भन्सार विभागले अनसन्धान प्रभावित नहोस् भन्नका लागि प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरेको छ। 

विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार आन्तरिक छानबिन तीव्र पारिएको छ। 

साउन ४, २०८० बिहीबार १०:५५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।