उकेरा टप फाइभः अन्धविश्वाससँग जोडिएको गम्भीर अपराधदेखि, डिल्लीरमण पुस्तकालयको किचलो

उकेरा टप फाइभः अन्धविश्वाससँग जोडिएको गम्भीर अपराधदेखि, डिल्लीरमण पुस्तकालयको किचलो

मंगलबार पनि नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्यो। दिउँसो बसेको कांग्रेस बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विविध विषयमा छलफल भए। 

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेसले सम्भवतः इतिहासमै पहिलो पटक पार्टी बैठक प्रत्यक्ष प्रसारण गरेको हो। 

१० वटा एजेण्डामा छलफल चलेको बैठकमा अधिकांश केन्द्रीय सदस्यले शीर्ष नेतृत्वको आलोचना गरे।

त्यस्तै मंगलबारै सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्सको सटरअगाडि नेपाली सेनाले एउटा शंकास्पद वस्तु निष्क्रिय पार्यो।

‘नेपाल उत्थान क्रान्किारी पार्टी’को नामबाट पर्चासहित भेटिको उक्त बस्तु बम भने नभएको पुष्टि भएको थियो। जसका कारण दिनभर उक्त क्षेत्रका स्थानीय र त्यस सडक वरपर भएर हिँड्नेहरू त्रसित बनेका थिए। 

यस्तै आजै दिउँसो नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा यूएई ‘ए’माथि तीन विकेटको सान्त्वना जित निकाल्यो। उक्त क्रममा नेपालका कुशल भुर्तेलले ६ विकेट लिनुका साथै ७१ रन पनि बनाए। साथै नेपालले आसन्न एसिया कप क्रिकेटको पहिलो खेल पाकिस्तानविरुद्ध अगष्ट ३० तारिखमा खेल्ने पनि तय भएको छ। 

आजै काठमाडौँ महानगरपालिकाले काठमाडौँ १० स्थित भद्रकुमारी घलेको घरमा डोजर चलाएको छ। 

देवीनगरस्थित पूर्वमन्त्री भद्रकुमारी घलेले गैरकानुनी रूपले कब्जा लिएर सरकारी जग्गामा घरटहरा बनाएको भन्दै महानगरको टोलीले घरलगायत संरचना भत्काएको हो।

यसैगरी आज बिहान नेकपा एमाले अध्यक्ष केपी ओली निर्वाचन पर्यवेक्षकका रूपमा सहभागी हुन कम्बोडिया प्रस्थान गरेका छन्। साउन ८ गते स्वदेश फर्किने कार्यतालिका बनाएर ओली त्यसतर्फ गएका हुन्। 

अब लागौं टप फाइभतर्फः

उकेराले आज बिहान तीज नजिकिएसँगै बजारमा तीज गीत नआएका सम्बन्धी समाचार प्रकाशन गर्यो। 

समाचारको सारः

आर्थिक मन्दीका कारण होटल,रेस्टुरेन्ट तथा व्यापार व्यवसाय सुस्त हुन थालेका छन्। यसको असर मनोरञ्जन क्षेत्रमा पनि देखिएको छ।

हरितालिका तीज नजिकिँदै गर्दा कलाकारको भरिभराउ हुने गीत रेकर्डिङ स्टुडियोमा चहलपहल देखिएको छैन। तीजका गीतहरू पनि उल्लेख्य मात्रामा सार्वजनिक भएका छैनन्। गत वर्ष यस बेलासम्म दर्जनौँ तीजका गीतहरू बजारमा आइसकेका हुन्थे।

वैशाखबाटै तीजका गीतहरू युट्युबमा आइसक्थे। तर अहिले साउन लागिसक्दा पनि फाट्टफुट्ट मात्र तीजका गीतहरू रेकर्डिङ भएका छन्। 

कोरोना महामारीमा पनि चलिरहेको रेकर्डिङ स्टुडियो यस वर्ष भने सुनसान नै बनेको सञ्चालकहरू नै स्विकार्छन्। 

पूरा समाचार : तीजले छोइसक्दा पनि रेकर्डिङ स्टुडियो सुनसान, हाई काढेर बस्छन् सञ्चालकहरू

यस्तै उकेराले दिउँसो नेपालको सान्तवना जितसम्बन्धी समाचार प्रकाशन गर्यो। 

समाचारको सारः

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले युएई ‘ए’माथि तीन विकेटको सान्त्वना जित निकालेको छ।

१५९ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा सात विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।

नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७१ रनको अर्धशतकीय पारी खेले।

देव खनालले ३८ बलमा २४ रन बनाउँदा सन्दीप जोराले १५ बलमा समान २४ रन नै जोडे। गुल्सन झा ११ रनमा आउट हुँदा रोहित पौडेलले ९ रन जोडे।

पूरा समाचार : कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा युएईमाथि नेपालको सान्त्वना जित

त्यसपछि नियमित साप्ताहिक कोलम ब्याच नम्बर ६९ प्रकाशित भयो। यस पटकको यस कोलममा स्तम्भकार हेमन्त मल्ल ठकुरीले हालै अभिनेता शारुक ताम्राकारले गरेको आत्महत्यासँग मिल्ने अनुसन्धानको प्रसंग झिकेका छन्। 

समाचारको सारः

केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख भएको बेलामा यस्तै एक अन्ध विश्वाससँग जोडिएको गम्भीर अपराधको अनुसन्धान गर्नुपरेको थियो। उजुरी जिल्ला प्रहरी कार्यालय धादिङमा परेको थियो। तर, त्यसमा अपहरणसँगै मानव बलि नै जोडिएपछि प्रहरी महानिरीक्षकको सचिवालय हुँदै अनुसन्धानको जिम्मा सीआईबीमा आएको थियो।

उजुरी अनुसार एक युवतीलाई उनकै दाइ नाता पर्नेसहितले बन्धअक बनाएर कोठामा राखे। नागार्जुन क्षेत्रमा उनीहरूले कोठा लिएर युवतीलाई १८ दिनसम्म कोठामा बन्धक बनाएर त्यहाँ एक आफूलाई तान्त्रिक हुँ भन्ने भारतीय नागरिक पनि थिए। 

पूरा समाचार : ब्याच नम्बर ६९ : उच्च सरकारी कर्मचारीले तन्त्रको वाण हानेर प्रतिस्पर्धी मार्न भारतबाट बाबा ल्याए

उकेराले रातिले दुई वटा महत्वपूर्ण सामग्री प्रकाशन गर्यो। जसमा एउटा स्वर्गीय नेता प्रदीप गिरिको आलेख छ भने अर्को डिल्लीरमण पुस्तकालय किचलोको तेस्रो श्रृंखला छ। जसको शीर्षक छः हजुरबाले पुस्तकालय बनाउन सरकारलाई दान दिएको जग्गामा किचलो निकाल्दै नातिनीका पाँच मुद्दा'

उक्त श्रृंखलाको सारः 

लामो समय अमेरिका बसेकी अवन्तिका रेग्मी सात वर्षअघि स्वदेश फर्किइन्। उनी नेपाल फर्किएर हजुरबा डिल्लीरमणले शेषपछि बकसमा दिएको घरमै बसेकी थिइन्। अमेरिकाबाट फर्केको सुरुवाती चरणमा उनी पुस्तकालय व्यवस्थापनप्रति खुशी नै रहेको समितिका व्यवस्थापनको दाबी छ। उनले समितिसँग सहकार्य नै गरिरहेकी थिइन्। तर, त्यो सहकार्य लामो समय गएन।

२०५९ मंसिर १६ गते तत्कालीन शिक्षा तथा खेलकुद मन्त्री देवीप्रसाद ओझालाई सम्बोधन गरेर डिल्लीरमण रेग्मीकी श्रीमती नुतन रेग्मी, छोरी शान्ती जोशी, माइली छोरी इन्दु तेवारी, कान्छी छोरी शोफिया शर्मा, छोरा मदन रेग्मी, नातिनीहरू शोभा शर्मा र अवन्तिका रेग्मी र योजना शर्माले निवेदन दिए।

दिवेदनमा डा. डिल्लीरमण रेग्मीले शेषपछि मन्त्रालयको नाममा हस्तान्तरण गरेको जायजेथा तुरुन्त जिम्मा लिन आग्रह गरिएको थियो। त्यसको अगुवाइ उनै अवन्तिकाले गरेको पुस्तकालय पक्षको दाबी छ...

पूरा समाचार : हजुरबाले पुस्तकालय बनाउन सरकारलाई दान दिएको जग्गामा किचलो निकाल्दै नातिनीका पाँच मुद्दा

 

साउन ३, २०८० बुधबार २२:१८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।