टिकट सस्तो भएपछि लुम्बिनी केबलकारमा पर्यटकको घुइँचो
बुटवल : टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ।
केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित ‘मर्निङ अफर’ शुरू गरेसँगै पर्यटक बढेका हुन्।
केबलकारको दुईतर्फी यात्राका लागि साधारण टिकट दर ७५० रुपैयाँ रहेकोमा ‘मर्निङ अफर’ को लागि ३७५ रूपैयाँ मात्र कायम गरिएको छ।
टिकट सस्तो भएको थाहा पाएपछि बुधबार बिहान ९ नबज्दैदेखि १२ बजेसम्म केबलकारमा सर्वसाधारणको उत्साहजनक उपस्थिति र चहलपहल बढेको थियो।
यसअघि केबलकारमा प्रतिदिन औसतमा ५ सय जना पर्यटक आउने गरेकामा ‘मर्निङ अफर’को पहिलो दिन ३ घण्टामै ९९६ जना पर्यटक आएका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए।
सर्वसाधारणको मागलाई समेत मध्यनजर गरेर भदौ मसान्तसम्मका लागि यो अफर ल्याइएको सैंजूले बताए।
आईएमई ग्रुपको अगुवाईमा कुल ५ अर्ब लागतको लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो।
सर्वसाधारणको मागलाई समेत मध्यनजर गरेर भदौ मसान्तसम्मका लागि यो अफर ल्याइएको सैंजूले बताए।
यो अफरमा भारतीय नागरिकले समेत ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने प्रालिले जनाएको छ।
२.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन पाल्पाको बसन्तपुरमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ।
कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए।
जेठ १५ देखि असार मसान्तसम्म केबलकारमा करिब ३० हजार जना पर्यटक आएका र ४० प्रतिशत भारतीय रहेका साउदले बताए।
समुद्री सतहबाट ९६० मिटर उचाईमा रहेको बसन्तपुरमा तराईका ठाउं भन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शितल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाईको थलो बनेको छ।
केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाका लागि छुट्याएको छ। उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बांडफाड गर्ने गरी सम्झौता भएको छ।
साउन ३, २०८० बुधबार २१:१९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।