कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा युएईमाथि नेपालको सान्त्वना जित

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा युएईमाथि नेपालको सान्त्वना जित

काठमाडौं : श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले युएई ‘ए’माथि तीन विकेटको सान्त्वना जित निकालेको छ।

१५९ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा सात विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।

नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७१ रनको अर्धशतकीय पारी खेले।

देव खनालले ३८ बलमा २४ रन बनाउँदा सन्दीप जोराले १५ बलमा समान २४ रन नै जोडे। गुल्सन झा ११ रनमा आउट हुँदा रोहित पौडेलले ९ रन जोडे।

पवन सर्राफ र अर्जुन साउदले एक रन पनि बनाउन सकेनन्। कुशल मल्ल र प्रतिश जिसीले अविजित रहँदै क्रमशः २ र ८ रन जोडे।

युएईका लागि मोहम्मद फजरुद्दिनले पाँच र मोहम्मद जवादुल्लाहलले दुई विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईल ४४ ओभरमा अलआउट हुँदै १५८ रन बनायो। उसका लागि लवप्रित सिंहले ५२ रनको अर्धशतकीय इनिङ्स खेले।

इथान डिसुजाले १८, अश्वन्त भालथापाले १६, आर्यन्स शर्माले १४ र जस जियान्नीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका पार्टटाइम बलर कुशल भुर्तेलले छ, सागर ढकालले दुई तथा कुशल मल्ल र पवन सर्राफले एक–एक विकेट लिए।

योसँगै प्रतियोगितामा नेपालले युएई एमाथि सान्त्वना जित हात पारेको छ। यसअघि भएको पाकिस्तान ए र भारत एसँगको खेलमा नेपाली टोली पराजित भएको थियो।

साउन ३, २०८० बुधबार १५:५४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।