फिल्मलाई जरिवाना गर्दा बालेनले पाँच लाखको विज्ञापन गरिदिएको भन्दै करिश्माको व्यङ्ग्य
काठमाडौँ : जथाभाबी फिल्मको पोस्टर टाँसेको भन्दै फिल्म बगानको निर्माण कम्पनीलाई ५० हजार जरिवाना भएपछि करिश्मा मानन्धरले काठमाडौँका मेयर बालेन शाहप्रति व्यङ्ग्य गरेकी छिन्।
उनले सामाजिक सञ्जालमा ५० हजार जरिवाना गराएर पाँच लाखको विज्ञापन गरिदिएको भन्दै व्यङ्ग्य गरेकी हुन्।
काठमाडौँ महानगरका भित्ताहरूमा पोस्टर टाँसेको भन्दै महानगरले मङ्गलवार कम्पनीलाई जरिवाना तिराएको थियो। जरिवाना गराएको भन्दै फिल्म निर्माण टिम महानगरको नेतृत्वप्रति आक्रोशित देखिएको थियो।
करिश्माले लेखिन्'महानगरले हामीलाई ५० हजारको जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदियो। कसले भन्छ बालेनजी नेपाली फिल्मलाई माया गर्नुहुन्न भनेर? जय बालेन।’शुक्रवार रिलिज भएको फिल्मको व्यापार निकै सुस्त छ। मङ्गलवार फिल्म युनिटले पूर्व राष्ट्रपति विद्या भण्डारी लगायतालाई फिल्म हलमा लगेर प्रचार गराएको थियो। तर बुधवार हलमा त्यसको प्रभाव देखिएन।
साउन ३, २०८० बुधबार १४:४६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।