तीजले छोइसक्दा पनि रेकर्डिङ स्टुडियो सुनसान, हाई काढेर बस्छन् सञ्चालकहरू

काठमाडौं : आर्थिक मन्दीका कारण होटल,रेस्टुरेन्ट तथा व्यापार व्यवसाय सुस्त हुन थालेका छन्। यसको असर मनोरञ्जन क्षेत्रमा पनि देखिएको छ।
हरितालिका तीज नजिकिँदै गर्दा कलाकारको भरिभराउ हुने गीत रेकर्डिङ स्टुडियोमा चहलपहल देखिएको छैन। तीजका गीतहरू पनि उल्लेख्य मात्रामा सार्वजनिक भएका छैनन्। गत वर्ष यसबेलासम्म दर्जनौँ तीजका गीतहरू बजारमा आइसकेका हुन्थे।
वैशाखबाटै तीजका गीतहरू युट्युबमा आइसक्थे। तर अहिले साउन लागिसक्दा पनि फाट्टफुट्ट मात्र तीजका गीतहरू रेकर्डिङ भएका छन्।
कोरोना महामारीमा पनि चलिरहेको रेकर्डिङ स्टुडियो यस वर्ष भने सुनसान नै बनेको सञ्चालकहरू नै स्विकार्छन्।
मारुनी रेकर्डिङ स्टुडियोका सञ्चालक कुमार रानाका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष आधा पनि तीज गीत रेकर्ड भएका छैनन्। कोरोना महामारीका बेला पनि स्टुडियोमा गीत रेकर्ड गर्न भ्याइनभ्याई हुँदा यस पटक भने ४० प्रतिशतले कमी आएको उनले बताए।
‘अहिले तीजका गीत मात्र नभएर अन्य गीतहरू पनि त्यति सारो रेकर्ड भएका छैनन्,’ उनले भने,‘तीज गीतको रेकर्डिङ गरेर बस्नुपर्ने बेलामा हाई काढ्दै बस्नुपर्ने अवस्था आएको छ।’
उनले सबैतिरको आर्थिक मन्दीका कारण मनोरञ्जन क्षेत्रमा परेको बताए। उनले उकेरासँगको कुराकानीमा भने,‘यतिबेला सबैतिरको क्षेत्र आर्थिक चपेटामा परेको अवस्था छ। यसको मारमा अहिले स्टुडियो क्षेत्रमा समेत परेको छ। अहिले आर्थिक मन्दीका कारणले होला गीतहरू लिएर कलाकारहरू खासै आउनुभएको छैन। सायद आर्थिक समस्याकै कारण होला।’
सबैभन्दा बढी लोक तथा दोहोरी गीत रेकर्ड गराउनेमध्येको मालाश्री रेकर्डिङ स्टुडियोमा पनि उस्तै असर परेको छ।
छुट दिएपछि आए केही कलाकार
आर्थिक मन्दीका कारण मारमा परेका कलाकारलाई स्टुडियोले २५ प्रतिशत छुटसमेत राखिदिएको छ।
स्टुडियो सञ्चालक विनोद बाजुरालीले केही छुट दिएपछि अहिले स्टुडियोमा गीत लिएर आउनेको संख्या बढेको बताए।
अधिकांश लोक तथा दोहोरी गीत रेकर्ड हुने मालाश्रीमा केही अघिसम्म चलहपहल कम थियो। त्यसैले सबैको समस्या बुझेर नै स्टुडियोको चार्ज घटाइएको बाजुरालीले बताए।
‘चैतबाट नै तीजका गीतहरू रेकर्ड हुन्छ। यस पटक पनि भएको थियो,’ उनले भने,‘अहिले शुल्क घटाएपछि गीत रेकर्डको चाप अलि बढ्न थालेको छ।’
संगीतकार बीबी अनुरागी सञ्चालक रहेको बबरमहलस्थित प्रिज्मा रेकर्डिङ स्टुडियोमा पनि अहिले कमै मात्रामा रेकर्ड भएका छन्। संगीतकार अनुरागीका अनुसार अहिले तीजको गीत रेकर्ड गर्ने गायक गायिकाको चार्म घटेको छ।
‘अहिले आर्थिक मन्दीले देशलाई आक्रान्त पारिरहेको अवस्थामा मनोरञ्जन क्षेत्रलाई नछुने कुरै भएन,’उनले भने,‘अघिल्ला वर्ष यतिबेलासम्म सय वटाभन्दा बढी तीजका गीत रेकर्ड भइसकेका हुन्थेँ। अहिले ४० हाराहारीमा रेकर्ड भएका छन्।’
एउटै स्टुडियोमा सय वटा गीत रेकर्ड हुने गरेको पनि अहिले जम्मा ४० वटा पनि मुस्किलले हुने उनले बताए।
उनका अनुसार कलाकारहरूमा पनि चरम आर्थिक संकट आएको छ। जसका कारण तीज मात्र नभई अन्य गीतहरू रेकर्डिङ हुन सकिरहेको छैन।
‘आफ्नै स्टुडियोबाट दैनिक २ वटा गीत मिक्सिङ गरेर गीत निर्माण टिमलाई दिने गरेकौँ,’उनले भने,‘केही वर्ष अघिसम्म त गीत रेकर्ड गर्न नै भ्याइ नभ्याई हुने गरेको थियो। सायद यस पटक आर्थिक मन्दीका कारण होला निकै कम गीतहरू रेकर्ड भएका छन्।’
अनामनगरमा रहेको सेवा रेकर्डिङ स्टुडियोको हालत पनि त्यस्तै छ। गीत रेकर्ड गर्न कलाकारहरूको भरिभराउ हुने यो स्टुडियो पनि सुनसानजस्तै बनेको छ।
यस स्टुडियोमा गत वर्षको तुलनामा छिटपुट मात्र तीज गीतहरू रेकर्ड भएका छन्। स्टुडियो सञ्चालक जीवन मुकारुङका अनुसार तीज र अन्य गीत गरेर एक महिनामा अहिले मुस्किलले ८-१० वटा गीतहरू रेकर्ड हुने गरेका छन्।
अहिले स्टुडियो नै धान्न मुस्किल पर्न थालेको उनी बताउँछन्। तीज नजिकिँदै गर्दा स्टुडियोमा बैग्लै रौनक हुनुपर्नेमा अहिले सुनसान पारेर बस्नु परेको मुकारुङ बताउँछन्।
उनका अनुसार अरू बेलाभन्दा तीजमा धेरै गीतहरू रेकर्ड हुने गरेका थिए। उनको स्टुडियोमा महिनामा २५ वटासम्म गीत रेकर्ड भएका थिए। मुकारुङ भन्छन्,‘पूर्वेली गीतहरू अलि अलि रेकर्ड भइरहेका छन्। योबाहेक त शून्यजस्तै छ।’
नेपालमा गीत रेकर्डिङ स्टुडियोको संख्या १ सय हाराहारीमा रहेको स्टुडियो सञ्चालकहरू बताउँछन्।
साउन ३, २०८० बुधबार १२:२६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।