छब्बीस दलीय विपक्षी गठबन्धनलाई संक्षेपमा ‘इन्डिया’ भनिने : खड्गे

छब्बीस दलीय विपक्षी गठबन्धनलाई संक्षेपमा ‘इन्डिया’ भनिने : खड्गे

एजेन्सी : छब्बीस दलीय विपक्षी गठबन्धनलाई संक्षेपमा ‘इन्डिया’ भनिने भारतको विपक्षी दल भारतीय काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले मङ्गलबार बताएका छन्।

विपक्षी गठबन्धनमा संलग्न २६ विपक्षी दलको नयाँ नाम इन्डिया नेशनल डेवलपमेन्टल इनक्लूसिव एलायन्सेस (आईएनडीआईए) हुनेछ।

‘हामी मुम्बईमा फेरि बैठक गर्नेछौं र सिट बाँडफाँट र अभियान व्यवस्थापनबारे छलफल गर्नेछौं,’ खड्गेले भने, ‘देशको यो गम्भीर अवस्थालाई जोगाउन हामी एकजुट भएका हौँ। चाँडै नै संयुक्त वक्तव्य जारी गरिनेछ।’

सन् २०२४ को लोकसभा चुनावअघि भाजपालाई टक्कर दिन संयुक्त मोर्चा बनाउने रणनीति तय गर्न विपक्षी दलहरूको बैठक बसेको हो।

खड़गेको घोषणा अघि बिहारका मुख्यमन्त्री नितिश कुमारको नेतृत्वमा रहेको जनता दल (युनाइटेड) ले ट्वीटरमार्फत उक्त जानकारी दिएको थियो।

काङ्ग्रेस सांसद मणिकम टैगोरले विपक्षी गठबन्धनले लोकसभा निर्बाचनमा जित्ने बताउँदै ट्वीटरमा लेखेका छन्, ‘इन्डियाले जित्नेछ।’

वर्तमान कांग्रेस नेतृत्वको गठबन्धनलाई संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) भनिन्छ।

साउन २, २०८० मंगलबार २१:५८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।