अध्यक्षलाई थप्पड हान्ने उपाध्यक्षलाई पाँच दिन हिरासतमा राख्न अनुमति

अध्यक्षलाई थप्पड हान्ने उपाध्यक्षलाई पाँच दिन हिरासतमा राख्न अनुमति

सुर्खेत : जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्षलाई थप्पड हानेपछि पक्राउ परेकी उपाध्यक्ष शान्तिकुमारी मल्ल(भण्डारी)लाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि प्रहरीले पाँच दिनकाे म्याद पाएको छ।

‘मंगलबार अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरेर ल्याएका छौँ,’ जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएपी प्रल्हाद कार्कीले भने, ‘अनसन्धान सकिएपछि विस्तृत प्रतिवेदन बुझाउनेछौं।’

आइतबार दिउँसो गाउँ कार्यपालिकाको बैठकमा उपाध्यक्ष मल्लले थप्पड हानेको भन्दै सोही दिन अध्यक्ष दानबहादुर बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा अभद्र व्यवहार सम्बन्धी उजुरी दर्ता गराएपछि मल्ललाई पक्राउ गरिएको थियो।

अध्यक्ष बुढाले आफूमाथि उपाध्यक्ष मल्लले सुरूमा थप्पड हानेर हातपात गर्दै पछि चप्पलले समेत हिर्काएको बताएका थिए। अध्यक्ष बुढा नेपाली कांग्रेसबाट र उपाध्यक्ष मल्ल एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधि हुन्।

अध्यक्ष बुढाका आफन्तमाथि समेत एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यलाई हातपात गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ।

‘ममाथि भएको अन्याय र दुर्व्यवहारलाई राजनीतिकरण गर्न मेरा आफन्तलाई कार्यपालिका सदस्यमाथि हातपात गरेको भनेर उनीहरूले उजुरी हालेका छन्,’ अध्यक्ष बुढाले भने, ‘मलाई न्याय चाहिएको छ। उहाँले गर्नुभएको गल्तीको सजाए पाउनैपर्छ।’

त्यस्तै उपाध्यक्ष मल्लले पक्राउ पर्नुअघि आफूमाथि भएको अत्याचार सहन नसकेर हातपात गर्न बाध्य भएको प्रतिक्रिया दिएकी थिइन्।

साउन २, २०८० मंगलबार २१:३४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।