रुपन्देहीको सियारी गाउँपालिकाले गर्‍यो सबैभन्दा बढी पुँजीगत खर्च, बुटवल अन्तिमबाट तेस्रो

रुपन्देहीको सियारी गाउँपालिकाले गर्‍यो सबैभन्दा बढी पुँजीगत खर्च, बुटवल अन्तिमबाट तेस्रो

बुटवल : रुपन्देहीको सियारी गाउँपालिका सबैभन्दा बढी पुँजीगत खर्च गरेको छ।

सियारीले रुपन्देहीका १६ वटा पालिकामध्ये सबैभन्दा बढी पुँजीगत खर्च गरेको छ। सियारीले आर्थिक वर्ष २०७९/०८० मा ८७ दशमलव १५ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जनाएको छ।

कार्यालयका अनुसार रुपन्देहीका १६ वटा पालिकाहरूले समग्रमा ७७ प्रतिशत पुँजीगत खर्च गरेका छन्।

३१ करोड ७६ लाख ७३ हजार बजेट विनियोजन भएकोमा २७ करोड ७२ लाख ८४ हजार अर्थात ८७.१५ प्रतिशत खर्च गर्न सफल भएको प्रमुख कोष नियन्त्रक बिष्णुप्रसाद ज्ञवालीले जानकारी दिए।

रुपन्देहीमा सबैभन्दा कम पुँजीगत खर्च मर्चवारी गाउँपालिकाले गरेको छ। उसले ६४ प्रतिशत मात्र खर्च गरेको देखिएको हो। त्यसपछि पुँजीगत खर्च गर्न नसक्नेमा सुद्धोधन गाउँपालिका रहेको छ। उसले ६८ दशमलव ९७ प्रतिशत मात्र खर्च गरेको देखिन्छ।

पुँजीगत खर्च गर्नेमा सियारी पछि कोटहिमाई गाउँपालिका रहेको छ। कोटहिमाईले ८४ दशमलव ४१ प्रतिशत खर्च गरेको छ। त्यसपछि रहेको मायादेवी गाउँपालिकाले ८२ दशमलव २४ प्रतिशत खर्च गरेको देखिन्छ।

यता बुटवल उपमहानगरपालिका ६९ दशमलव ४८ प्रतिशत, तिलोत्तमा नगरपालिकाले ७३ दशमलव ३८, देवदह नगरपालिकाले ७३ दशमलव ८१ प्रतिशत, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ७६ दशमलव ४० प्रतिशत, सिद्धार्थनगर नगरपालिकाले ७२ दशमलव ४९ प्रतिशत खर्च गरेका छन्।

त्यसैगरी सैनामैना नगरपालिकाले ७९ दशमलब ३४ प्रतिशत, ओमसतिया गाउँपालिकाले ७९ दशमलव २६ प्रतिशत, कञ्चन गाउँपालिकाले ८१ दशमलब १२ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

त्यस्तै, गैडहवा गाउँपालिकाले ८२ दशमलव २ प्रतिशत, रोहिणी गाउँपालिकाले ७९ दशमलब ६३ प्रतिशत र सम्मरीमाई गाउँपालिकाले ७८ दशमलब ५४ प्रतिशत खर्च गरेको छ।

साउन २, २०८० मंगलबार १८:४९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।