पुस्तकालयविरुद्ध जाहेरी दिने अवन्तिका डिल्लीरमणकी छोरी कि नातिनी!
काठमाडौं : पूर्वगृहमन्त्री समेत भएका डिल्लीरमण रेग्मीले कानून मिचेर नातिनीलाई छोरी बनाउँदै नागरिकता दिलाएको खुलेको छ। उनले छोरा मदन रेग्मीको छोरी अवन्तिकालाई छोरी भन्दै नागरिकता बनाइदिएका हुन्।
नेपालको कानूनले नातिनीलाई छोरीको कानूनी हैसियत दिन मिल्दैन। अवन्तिकाको नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको नागरिकतामा बाबुको नामको स्थानमा हजुरबुवा डिल्लीरमणको नाम छ।
गृह मन्त्रालयको नीति योजना, अनुगमन मूल्याङ्कन महाशाखा प्रमुख रुद्रादेवी शर्माका अनुसार प्रचलित कानून बमोजिम आफ्नो जैविक बाबु जो हो उसले मात्रै नागरिकता बनाइदिन सक्छ। अनुसन्धानको क्रममा अरुले नै नागरिकता दिएको देखिए नियमअनुसार रद्द हुन्छ।
उकेराले पाएको उनको नागरिकतामा बाबुको स्थानमा प्रष्टै हजुरबुवा डिल्लीरमण रेग्मीको नाम छ। यति मात्रै हैन उनले अदालतदेखि विभिन्न सरकारी कार्यालयहरूमा बुझाएको निवेदनहरूमा समेत डिल्लीरमण रेग्मी आफ्नो जैविक बाबु नभई हजुरबुबा भएको तर आफूलाई सानैदेखि छोरीकै रूपमा पालनपोशण गरेको उल्लेख गरेकी छिन्।
कानूनअनुसार कानूनी अधिकार जन्माएको सन्तानले मात्र पाउने अधिकार नातिनीले प्रयोग गरिरहेको उनैले स्वीकार गर्दासमेत अदालतदेखि कुनै सरकारी निकायले उनको नागरिकताबारे प्रश्न उठाएको देखिएन।
बरु उल्टो अवन्तिकालाई कानूनी रूपमा कतै डिल्लीरमणको छोरी त कतै नातिनी उल्लेख गर्दा आएको कानूनी अड्चन फुकाउन उनले काठमाडौं महानगरपालिका दुई नम्बर वडा कार्यालयमा सिफारिस मागेको देखिन्छ।
उनले निवेदनमा आफू डिल्लीरमण र नुतनको जैविक नातिनी भएता पनि छोरीको रूपमा ग्रहण गरेर नागरिकता प्रमाण पत्रमा दिलाएको र नागरिकतामा बाबुको नाम हुनुपर्ने ठाउँमा डिल्लीरमण रेग्मीको नाम भएको उल्लेख गरेकी छन्। त्यसपछि शैक्षिक योग्यताको प्रमाण पत्र लगायतका कागजपत्रमा समेत बाबु-छोरीको नाता कायम भएको उल्लेख छ।
अन्य कागजपत्र र शेषपछिको बकस अनि शेषपछिको हकवालामा समेत नातिनी उल्लेख गरिएकाले ‘छोरी’, ‘छोरी-नातिनी’ अनि ‘नातिनी’ उल्लेख भएता पनि तीनै व्यक्ति आफैँ भएको प्रमाणित गर्न निवेदन दिइन्। तत्कालीन वडा सचिव विमल ज्ञवालीले सोही अनुसार २०६६ चैत ९ गते सफारिस बनाइदिएको देखिन्छ।
डिल्लीरमणले लेखिदिएको शेषपछिको बकसमा अवन्तिकालाई नातिनी भनेरै उल्लेख छ। उनले अदालतमा दायर गरेका फिराद पत्रहरूमा समेत त्येही विवरण उल्लेख गरेर निवेदन दिएकी छन्।
कानूनी प्रक्रियाको क्रममा कहिँकतै पनि हजुरबुवा नै कानूनी रूपमा बाबु भएर कसरी नागरिकता बन्न सक्छ? अनि यसरी बनेको नागरिकता कसरी वैध हुन्छ? भन्ने हेरेको देखिएन।
शेषअघि जग्गा कि शेषपछि विवादले खुलाएको तथ्य
आफ्नो शेषपछि सार्वजनिक प्रयोजनका लागि डिल्लीरमण रेग्मीले आफ्नो जेथा अनि पुस्तक डिल्लीरमण-कल्याणी रेग्मी पुस्तकालय बनाएर हस्तान्तरण गरे।
सो अनुसार विकास समिति पनि बन्यो। पुस्तकालय पनि छ तर जीर्ण। त्यही पुस्तकालयविरुद्ध अवन्तिकाले हाल पाँचवटा मुद्दा दायर गरिन्। सबै मुद्दा विचाराधीन अवस्थामै छन्।
उनले पुस्तकालयविरुद्ध जालसाजी, सुविधा कायम गरी घर खाली गराइपाऊँ, गाली बेइज्जती र निषेधाज्ञा माग गरी मुद्दा दर्ता गरेको खुलेको छ।
सर्वोच्च अदालतबाट एक मुद्दामा २०७८ भदौ ३१ गते उनको पक्षमा अन्तरिम आदेश पनि आयो। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले दक्षिणपट्टीको घरमा बसोबास गर्न, आवातजावत गर्न पुस्तकालयको गेट प्रयोग गर्न अवरोध नगर्न पुस्तकालय, शिक्षा मन्त्रालय र नेपाल सरकारको नाममा आदेश दिएको देखिन्छ।
पुस्तकालयका लागि नयाँ भवन बनाउन डीपीआरको काम सकिइसक्यो। तर, अवन्तिकाले मुद्दा दायर गरेकाले जिल्ला अदालत काठमाडौंले तत्काल काम रोक्न आदेश दिएपछि नयाँ भवन निर्माणको काम अगाडि बढेको छैन।
जिल्ला अदालतले अहिले चारवटै मुद्दालाई एकै ठाउँमा राखेर हेरिरहेको छ। जिल्ला अदालतमा साउन २५ मा पेशी छ भने सर्वोच्चमा भदौ २५ गते पेशी तोकिएको छ।
अवन्तिकाको जैविक आमा-बाबु को हुन्?
नागरिकताअनुसार अवन्तिका डिल्लीरमण रेग्मीकी छोरी हुन्। तर, उनैले काठमाडौं जिल्ला अदालतमा २०७८ माघ महिना ४ गते दर्ता गरेको फिराद पत्रअनुसार भने उनी डिल्लीरमणको जैविक छोरी नभई नातिनी हुन्।
उनले फिराद पत्रमा लेखेकी छन्, ‘म निवेदिका अवन्तिका रेग्मी राजनीतिज्ञ स्वर्गीय डा. डिल्लीरमण रेग्मी र स्व. नुतन रेग्मीको जैविक नातिनी भएता पनि उहाँहरूले मलाई जन्मनेबित्तिकै बाबुआमाबाट छुट्याई छोरीको रूपमा ग्रहण गरी छोरीकै नाता सम्बन्धबाट मैले नागरिकतासमेत प्राप्त गरी आएको व्यक्ति हुँ।’
अवन्तिकाले खुलाए अनुसार मदन रेग्मी र निजकी फूपू लिली लोहनीको वैवाहिक सम्बन्धबाट उनको जन्म भएको हो। उनीहरूको वैवाहिक जीवन १८ वर्षमा अन्त्य भयो। जन्म दिने मातापिताले मरोस् भनेर फालिदिएको अवस्थामा डिल्लीरमण र नुतनले उनलाई ग्रहण गरेका थिए।
यसबाट डिल्लीरमणले नातिनीलाई नै छोरी भनेर नागरिकता बनाएको देखिन्छ। बाबुको नाममा छोराको नाम नराखी किन डिल्लीरमणले आफ्नै नाम राखे? के थियो अवस्था खुलेको छैन। धर्म सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन सकिन्छ। अवन्तिकाको कानूनी हैसियत धर्म सन्तान नभई छोरी नै देखिन्छ।
अमेरिका पढ्न गएकी उनी लामो समय उतै बसिन्। उनी नेपाल फर्किएर पुस्तकालय पछाडि डिल्लीरमणले दिएको जग्गामा बनेको घरमा बस्दै आएकी छन्।
अविन्तकाले पुस्तकालयले स्व. डा डिल्लीमरण रेग्मी र नुतन रेग्मीको सम्पत्ति खान गेटको चाबीसम्म नदिएको, उनी बसिरहेको घरमा मुल गेटबाट आवतजावत गर्न नदिइ मानसिक याताना दिएको, आफ्नो घरबाट आउजाउ गर्न नपाएको, पुस्तकालयले बाटोसमेत नदिएको भन्दै जिल्ला अदालतमा फिराद पत्र दायर गरेकी थिइन्।
मुद्दाहरू केलाउँदा पुस्तकालयले चर्चेको जग्गा अहिले नै पुस्तकालयले लालपुर्जा बनाउन नपाउने अवन्तिकाको दाबी छ।
डिल्लीरमणले शेषपछि बकस दिएको जग्गा आफू जिवित छँदै शिक्षा मन्त्रालय मातहत लैजान नहुने तर्क गरेकी अवन्तिका सहितको परिवारले २०५९ सालमा नै शिक्षा मन्त्रीलाई सम्बोधन गर्दै डिल्लीरमण रेग्मीको सम्पत्ति शिक्षा मन्त्रालयले जिम्मा लिनुपर्ने भन्दै निवेदन दिएका थिए।
निवेदक थिइन् अवन्तिका पनि
२०५९ मंसिर १६ गते तत्कालीन शिक्षा तथा खेलकुद मन्त्री देवीप्रसाद ओझालाई डिल्लीरमण रेग्मीको परिवारले निवेदन बुझाएका थिए।
डिल्लीरमणकी श्रीमती नुतन रेग्मी, जेठी छोरी शान्ती जोशी, माइली छोरी इन्दु तिवारी, कान्छी छोरी शोफिया शर्मा, छोरा मदन रेग्मी, नातिनीहरू शोभा शर्मा, अवन्तिका रेग्मी र योजना शर्माले दिएको निवेदन फेला परेको छ।
निवेदनमा ‘स्वर्गीय डा.डिल्लीरमण रेग्मीले तत्कालीन श्री ५ को सरकारलाई दान गर्नुभएको उहाँको सम्पूर्ण श्रीसम्पत्ति शिक्षा तथा खेलकुद मन्त्रालयले तुरुन्त जिम्मा लिनुपर्ने’ भनि उल्लेख भएको देखिन्छ। निवदेन नुतन रेग्मीले लेखेको देखिन्छ।
उनले नर्भिक अस्पतालमा आफ्नो उपचार भइरहेको, डिल्लीरमण रेग्मी ट्रस्टले रेग्मीको पुस्तकालय जोगाउन कुनै काम नगरेको, यस्तो देख्दा परिवार नै सबै दु:खी भएको भन्दै डिल्लीरमण रेग्मीले नै ‘...मेरो देहावसानपछि तुरुन्तै मेरा परिवारका सदस्यहरूले पुस्तकालय, संग्रहालय लगायतका सबै श्रीसम्पत्ति श्री ५ को सरकार, शिक्षा तथा खेलकुद मन्त्रालायलाई हस्तान्तरण गर्नु...’ भनेको उल्लेख छ।
त्यस्तै पत्रमा नुतनले डिल्लीरमण ट्रस्टमार्फत शिक्षा मन्त्रालयका अधिकारीहरूलाई बारम्बार स्मरण गराउँदा समेत ग्रहण नभएकाले आफू बिरामी भएको समेत उल्लेख गरेकी छन्।
रेग्मी परिवारले शिक्षा मन्त्रालयमा निवेदन हालेपछि भटाभट काम भएको देखिन्छ। २०६० असार १२ गते डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिको गठन आदेश राजपत्रमा प्रकाशित भयो। २०६० चैत २३ गते प्रकाशित राजपत्र अनुसार विकास समिति गठन भएको उल्लेख छ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार त्यो बेला अवन्तिका अमेरिका अध्ययनका लागि जाने तरखरमा थिइन्। किताबको बिजोग भएर हेर्ने कोही नभएपछि सरकारको हेरिदिन परिवारले नै निवेदन दियो। जसै अवन्तिका नेपाल फर्किइन्, त्यसपछि भने उनले सो जग्गा आफ्नो शेषपछि मात्र सरकारको हुने भन्दै निवेदन हालेकी हुन्।
आफूसमेत सहभागी भएर दिएको निवेदनअनुसारै सरकारको मातहतमा गएको जग्गाबारे अहिले किन अवन्तिका मुद्दामामिलामा लागेकी छन्? के-के छ उनको दाबी? अर्को अंकमा।
डिल्लीरमण पुस्तकालयमा किचलो
साउन २, २०८० मंगलबार १९:१५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।