कुनै अपराधी छुटाउन म आफैँ सहमत हुन्न : मन्त्री गुरुङ

कुनै अपराधी छुटाउन म आफैँ सहमत हुन्न : मन्त्री गुरुङ

काठमाडौं : कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आफू कुनै अपराधीलाई छुटाउनतर्फ नलागेको स्पष्टीकरण दिएका छन्।

मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री गुरुङले केही नेपाल ऐन संशोधन विधेयकका बारेमा बोल्दै उनले आफू अपराधी छुटाउने पक्षमा नलागेको बताएका हुन्।

‘केही नेपाल ऐन संशोधन विधेयकलाई पनि संशोधन गर्न सकिन्छ, संशोधन स्वीकार गर्न सकिने ठाउँ छ अझै पनि,’ उनले भने, ‘कुनै पनि अपराधीलाई छुटाउन म आफैँ सहमत हुन्न।’

भोलिका दिनमा दफावार छलफल गर्दा सहमति गरेर निष्कर्षमा पुग्न सकिने भन्दै उनले हुबहु पारित हुन्छ भन्ने सोच्न गलत हुने उनको भनाइ छ।

८० वटा विधेयकको संशोधनमा पेश गर्दा संविधान विपरीतका पनि विषय समेटिएको हुनसक्ने स्वीकार गर्दै उनले त्यसलाई सच्याउन सकिने बताए।

‘धनराज गुरुङ कानूनमन्त्री भएसँगै कानूनमा अपराधीकरण हुने गरेर विधेयकहरु पास गर्ने कुरामा म आफैँ सहमत हुन्न कहिल्यै पनि,’ उनले थपे, ‘राजनीतिकलाई अपराधिकरण गर्ने कानूनहरू पास गरिन्न।’

विधेयक मस्यौदा भएको र त्यसलाई संशोधन गर्न सकिने भन्दै मन्त्री गुरुङले समिति र सदनमा आउँदा त्यसलाई सुधारिने बताए।

शनिबार बसेको प्रतिनिधिसभा बैठकमा केही नेपाल संशोधन विधेयक दर्ता भएको थियो। उक्त विधेयकको दफा ६४ मा भएको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा संशोधन प्रस्तावमा अपराधीलाई राजनीतिक उन्मुक्ति दिने विषउ उल्लेख भएको थियो।

सोही विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा हंगामा गरेको थियो। सांसद सुमोना श्रेष्ठले यस संशोधनलाई लिएर कडा शब्दमा सरकारको आलोचना गरेकी थिइन्।

साउन २, २०८० मंगलबार १७:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।