टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम : अमेरिका

टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम : अमेरिका

एजेन्सी : अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन्।

टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिष्ट पार्टीसम्म पुर्याउने गरेको सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले उल्लेख गरेको जियानली याङले अमेरिकी अखबार द हिलमा लेखेका छन्।

एफबिआईले सार्वजनिक गरेको उक्त सूचनाका आधारमा  सिनेटर मार्क वार्नरको नेतृत्वमा सिनेटरहरूको एक समूहले हालै वाणिज्य विभागलाई लोकप्रिय सामाजिक सञ्जालमाथि नियमनको अधिकार प्रदान गर्ने कानून बनायो।

राष्ट्रपति जो बिडेनले पनि उक्त कानूनलाई तत्काल अनुमोदन गरेर तुरुन्त पारित गर्न आह्वान गर्नुभएको द हिलमा जनाइएको छ।

नीति नियमका विश्लेषकहरूले हानिकारक सोशल मिडिया कम्पनीहरूको डेटा सङ्कलनसँग लड्न आफ्ना प्रयास दोब्बर गर्नुपर्नेमा जोड दिँदै टिकटकमात्र व्यक्तिगत विवरण सङ्कलन गर्ने पहिलो कम्पनी नभएको बताएका छन्।

वि च्याटजस्ता धेरै अन्य एप कम्पनीको चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध रहेकाले त्यस्ता विषयलाई सांसदहरूले गम्भीर भएर हेर्नुपर्ने सुझाव लिइएको छ।

चिनियाँ स्वामित्वमा रहेका सामाजिक सञ्जाल एपहरूमात्र नभई आधुनिक कारहरू पनि व्यक्तिगत विवरण सङ्कलनका माध्यम बनेका, तिनमा जडान गरिएका क्यामेरा र कम्प्युटरले चालकको यात्रास्थल, उसले पसलमा गर्ने किनमेल, सुन्ने गीतसङ्गीतदेखि उसले कति छिटो सवारी चलाउँभन्नेसम्मका सूचना सङ्कलन गर्ने द हिलमा जियानलीले लेखेका छन्।

साउन २, २०८० मंगलबार १५:४०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।