अमेरिकामा हुने भनिएको ‘नेफ्टा अवार्ड’ दोस्रो पटक स्थगित, तयारी नपुगेको आयोजकको भनाइ

अमेरिकामा हुने भनिएको ‘नेफ्टा अवार्ड’ दोस्रो पटक स्थगित, तयारी नपुगेको आयोजकको भनाइ

काठमाडौं : अमेरिकामा हुने भनिएको नेफ्टा अवार्ड तत्कालका लागि स्थगित भएको छ। अवार्ड कार्यक्रम गर्नका लागि आवश्यक तयारी नपुगेकोले हाललाई स्थगित गरिएको आयोजक चलचित्र प्राविधिक संघले जनाएको छ।

अवार्ड कार्यक्रम साउन ६ गते अमेरिकाको टेक्ससमा आयोजना गर्ने तयारी थियो।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले उकेरासँगको कुराकानीमा भने,‘अवार्डका लागि आवश्यक तयारी नपुगेको कारण अहिलेलाई स्थगित गरेका छौं। कहि दिनमा पत्रकार सम्मेलन गर्दै नयाँ मिति घोषणा गर्नेछौं।’

अहिले समाचारमा आए जस्तो भिसा नलागेको र अन्तर्वार्तामा नबोलाएको कुनै सत्यता नरहेको उनले बताए। उनले यसबारेमा केही दिनमा पत्रकार सम्मेलन गर्दै जानकारी दिने बताए।

उनले भने,‘आवश्यक तयारी नपुगेका कारण हामीले कसैको पनि भिसा एप्लाई गरेका छैनौं। समाचारमा ५० जनाले भिसा नआएर स्थगित भएको भन्ने कुरा लेखिएको रहेछ। यसमा कुनै सत्यता छैन।’

अवार्ड स्थगित भएको यो दोस्रो पटक हो। यसअघि अवार्ड जेठ १३ गतेबाट सरेर साउन ६ मा आएको थियो।

अवार्डका लागि एक महिनाअघि होटेल सोल्टीमा उत्कृष्ट ५ को सूची सार्वजनिक गरिएको थियो। यसै विषयमा अवार्डको आयोजक मध्ये एक आर्यन फिल्मस्ले विभिन्न आरोप लगाउँदै अवार्डबाट हात झिकेको थियो। 

नेफ्टाले २०७९ सालभित्र प्रदर्शन भएका फिल्मलाई ४२ विधामा अवार्ड बाँड्ने तयारी गरेको थियो। यसअघि नेफ्टा अवार्ड यूएई, मलेसिया, हङकङ र कतारमा आयोजना भएका थिए।

अवार्डको सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री विधाको पुरस्कार कुनै एक हलिउड र बलिउड कलाकारले प्रदान गर्ने प्रचार आयोजकले गरेको थियो।

साउन २, २०८० मंगलबार १२:०१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।