कमेडी च्याम्पियन-३ ल्याउन ‘कमेडी क्लब विथ च्याम्पियन्स’ बन्द

कमेडी च्याम्पियन-३ ल्याउन ‘कमेडी क्लब विथ च्याम्पियन्स’  बन्द

काठमाडौं : कमेडी टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ बन्द भएको छ। विशाल भण्डारीले निर्देशन गर्दै आएको कार्यक्रम ६९ औं एपिसोडपछि बन्द भएको निर्माण टिमले जानकारी दिएको हो। 

कार्यक्रममा ‘कमेडी च्याम्पियन १ र २’का प्रतिस्पर्धीहरु पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई, सुमन कार्की र कैलाश कार्की सहभागी रहेका थिए। यसको अध्यक्षका रुपमा दीपाश्री निरौला रहेकी थिइन्। 

निर्देशक विशाल भण्डारीले अर्को रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ३’ सुरु गर्न लागेकाले ‘कमेडी क्लब विथ च्याम्पियन्स’ तत्कालका लागि बन्द गरेको बताए।

'१६ महिना लगातार कार्यक्रमगर्दा कलाकाहरु पनि थाके। अर्को शो पनि ल्याउने तयारी भएकाले आफ्नै कार्यक्रम नजुधोस् भनेर अहिलेलाई कार्यक्रम बन्द गरेका हौँ' उनले भने' यही टिम कमेडी च्याम्पियनमा पनि संलग्न हुन्छन्।'

विवादमा परिरहन्थ्यो कार्यक्रम

‘कमेडी क्लब विथ च्याम्पियन्स’ बाट मेक्सम गौडेल, सुमन कार्की र कैलाश कार्की स्थापित कलाकार बन्न सफल भए। पछिल्लो समय मेक्सम र सुमनको बयोबृद्ध क्यारेक्टर दर्शकहरुले रुचाएका थिए। कैलाशको क्यारेक्टर प्रारम्भबाटै स्थापित भयो।

तर डबल मिनिङका डायलगका कारण बौद्धिक दर्शक गुमाउँदै गएको कार्यक्रम पटक-पटक विवादमा समेत पर्दै आयो। कार्यक्रमको पहिलो एपिसोडमा देखिएका विक्की अग्रवाल त्यसपछि कार्यक्रममा देखिएनन्। उनी आफैँले अर्को टेलिभिजनमा नयाँ कार्यक्रम ल्याएका थिए। त्यसपछि बिशाल कार्यक्रमको प्रस्तोताको रुपमा देखिए।

शोको व्यवस्थापनमा विक्की संलग्न थिए। गन्धर्व समुदायले आफूहरुको मानमर्दनमा आँच आउने खालका कन्टेन्ट प्रस्तुत गरेको भन्दै आपत्ति जनाएपछि टिमले माफी नै मागेको थियो।

असारको अन्तिम साता फिल्म ‘मेयर साप’ का निर्देशक राजु गिरीले ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा आफूले बनाउन लागेको फिल्मको विषयमा जथाभाबी कन्टेन्ट बनाएको भन्दै प्रस्तोता भण्डारी र विक्की विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी गरेका थिए।

 

साउन २, २०८० मंगलबार ११:४८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।