कृषकका लागि अनुदानमा आएको मल सहकारीका अध्यक्षले ससुरालीमा लुकाए, कालोबजारीमा बेच्ने नियत
बुटवल : शुद्धोधन गाउँपालिकामा सहकारीका अध्यक्षले अनुदानमा आएको ५४ बोरा मल ससुरालीमा लुकाएर राखेको पाइएको छ।
शुद्धोधन गाउँपालिका–३ लवनीस्थित कृषि सहकारीका लागि कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याएको मल सहकारीका अध्यक्षले कालोबजारीमा बेच्न ससुराली पुराएका हुन्।
ओम कृषि सामग्री केन्द्रका अध्यक्ष भागीरथी यादवले कृषकका लागि अनुदानमा ल्याएको ५४ बोरा मल शुद्धोधन गाउँपालिका–६ स्थित ससुरा बनारसी यादवको घरमा लगेर लुकाएर राखेको तथ्य बाहिर आएको छ।
ससुरालीमा लुकाएर राखेको मल प्रहरीले अहिले जफत गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले मल लुकाएको सूचना पछि बनारसी यादवको घरबाट मल जफत गरेको बताइन्।
उनका अनुसार यस बारे थप अनुसन्धान भइरहेको छ। बोहोराले कालोबजारीमा बेच्ने नियतले नै मल ससुराली पुराएको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको उनले बताइन्।
तर यता अध्यक्ष भागीरथी यादवले भने सहकारीको गोदाममा पानी चुहिने भएकाले ससुरालीमा राख्न लगिएको दाबी गरे।
साउन २, २०८० मंगलबार ११:३०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।