अस्ट्रिच पालनपछि च्याउ खेतीमा सीपी शर्मा, १ अर्ब ६० करोड लगानी, मासिक ४ करोड कारोबार

बुटवल : नेपालमै पहिलो पटक अस्ट्रिच पालन व्यवसाय सुरुवात गरेका रुपन्देहीका सीपी शर्मा अहिले अस्ट्रिच पालनसँगै व्यावसायिक च्याउ उत्पादनमा लागेका छन्।
लकडाउन सुरु भएपछिको समयलाई सदुपयोग गर्दै व्यावसायिक च्याउ खेती सुरु गरेका शर्माले अहिले अस्ट्रिचबाट भन्दा बढी आम्दानी च्याउ उत्पादनबाट गर्दै आएका छन्।
शर्माले तिलोत्तमा नगरपालिका वडा नं. १६ गंगोलियामा अस्ट्रिच नेपाल प्रा.लि स्थापना गरेर अस्ट्रिच र च्याउ उत्पादन गरिरहेका छन्। उनले अस्ट्रिच फर्म भित्रै डल्ले च्याउको उत्पादन र ठूलो क्षमताको शीत भण्डार (कोल्डस्टोर) संचालन गरेका छन्।
अस्ट्रिच पालन सुरु गर्दा नै च्याउ उत्पादन र कोल्डस्टोर संचालन गर्ने उनको योजना थियो। उक्त योजना पुरा गर्ने उपयुक्त अवसर भने शर्मालाई लकडाउनले दियो।
किसानको कृषि उपज भण्डारण गर्ने गरी ठूलो क्षमताको कोल्डस्टोर स्थापना गरेका शर्माले त्यही नै व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका छन्।
अस्ट्रिच फार्मभित्रै उनले १ अर्ब ६० करोडको लागतमा १० हजार टन क्षमताको कोल्डस्टोर स्थापना गरेर च्याउ खेती गरिरहेका छन्। जहाँबाट अहिले दैनिक ५ देखि ७ हजार केजी च्याउ उत्पादन हुने गरेको उनले बताए।
बाहिरको तापक्रममा डल्लो च्याउको खेती उपयुक्त नहुने भएकाले कोल्डस्टोरमा ९/१० डिग्री तापक्रम मिलाएर च्याउ उत्पादन गरिराखेको उनको भनाइ छ। बजारमा ४ सय रुपैयाँसम्म पर्ने डल्ले च्याउ फर्मबाट भने २५० देखि प्रतिकेजी ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
‘भारतबाट कत्तिको च्याउ नेपालमा आएको छ, त्यही अनुसार हाम्रो च्याउको मूल्यमा घटबढ हुन्छ। भारतबाट आउने च्याउसँग हामीले प्रतिस्पर्धा गर्न सकिंदैन,’ उनले भने।
उनका अनुसार च्याउ रुपन्देही सहित काठमाडौं, पोखरा, नेपालगन्ज र बिर्तामोडसम्म पुग्ने गर्छ। उनले ठूलो मात्रामा च्याउ उत्पादन गर्दा भारतबाट हुने निर्यातमा कमी आएको बताए।
शर्माले गरेको अध्ययन अनुसार, नेपालमा दैनिक २५ टन च्याउ खपत हुन्छ। जसका लागि भारतबाट तरकारीका रूपमा तथा चीन, भियतनाम र थाइल्याण्डबाट क्यानको च्याउ आयात भइरहेको उनको भनाइ छ।
‘हामीले उत्पादन गरेपछि आयत केही कम भएको छ। तर पनि भारतबाट सस्तोमा च्याउ आउँछ। त्यहाँ राज्यले किसानलाई २ प्रतिशत ब्याजमा सहुलियत ऋण दिन्छ। हामीले १५ प्रतिशत तिर्नुपर्छ। अनि कसरी प्रतिस्पर्धा गर्ने,’ उनले भने।
उनले राज्यले किसानमैत्री नीति नल्याउँदासम्म भारतबाट आयत हुने कुनै पनि कृषिजन्य वस्तुसँग प्रतिस्पर्धा गर्न नसकिने बताए।
अस्ट्रिचको गोबरमा पराल, गहुँको छ्याली, उखुको खोस्टा मिलाएर प्लाष्टिकमा राखी च्याउ उत्पादन गरिएको छ भने त्यही कम्पोष्ट मलको रुपमा प्रयोग हुने गरेको छ। उनका अनुसार च्याउबाट मात्र मासिक ४ करोड बढीको कारोबार हुन्छ।
च्याउको बिउ पनि उत्पादन
फर्मलाई मात्र नभइ कृषकहरुका लागि गुणस्तरिय च्याउको बिउ पनि शर्माले उत्पादन गर्न थालेका छन्। उनले ३ महिनादेखि तिलोत्तमा कटैयामा ‘ओ.एन बायोटेक’ कम्पनी मार्फत डल्ले, सिताके, पाते लगायतका च्याउको बिउ उत्पादन सुरु गरेका छन्।
४० करोडको लागतमा बेल्जियमबाट अत्याधुनिक गुणस्तरिय मेसिन ल्याएर बिउ उत्पादनमा लागेको उनले बताए। यहाँबाट दैनिक ३ हजार केजी बिउ उत्पादन गर्ने क्षमता भए पनि अहिले दैनिक १ हजार केजी बिउ उत्पादन भइरहेको छ।
‘हामीले ३ महिनाअघि बिउ भारतबाट ल्याउनुपर्थ्यो तर त्यो गुणस्तरिय बिउ थिएन। अहिले बिउ उत्पादन गरेपछि हामी बिउमा आत्मनिर्भर भएका छौ,’ उनले भने।
सफलताका पर्यायवाची शर्मा
पहिलोपटक युक्रेनमा अष्ट्रिच चरालाई देखेका शर्माले अहिले आफैंले २ हजार ५ सय अस्ट्रिच पालन गर्दै आएका छन्। बाग्लुङ जिल्लाको तत्कालीन सल्यान गाविस-३ मा जन्मिएका शर्मा अध्ययनको सिलसिलामा २०४३ सालमा रसिया पुगे।
रसियामा ७ वर्ष बिताए। त्यहाँबाट एमबीए गरे। त्यसपछि २०५० सालमा बुटवल आएर ट्याक्टरको व्यवसाय गरे।
रसियामा अध्ययन गर्दा उनी एकपटक उनी युक्रेन पुगेका थिए। युक्रेन पुग्दा त्यहाँको एक एकीकृत फार्ममा पहिलोपटक अस्ट्रिच देखेर उनलाई अचम्म लाग्यो। युक्रेनमा देखेको अस्ट्रिच चराको मासुको स्वाद उनले फ्रान्सको पेरिसस्थित एक रेस्टुराँमा लिन पाए।
अस्ट्रिचको स्वाद चाखेपछि शर्माले नेपाल आएर नौलो पन्छी पालनको सपना बुने। दुई चार वर्ष बजार र रुपन्देहीमा अस्ट्रिच पाल्न सकिन्छ सकिंदैन भन्ने अध्ययन गरे। त्यसपछि सुरु भयो अस्ट्रिच नेपाल प्रा.लि फर्म।
अष्ट्रेलियाबाट १५ सय अष्ट्रिचका अण्डा ल्याएर फर्म चलाउन थाले पनि अण्डाबाट जम्मा २ सय मात्र चल्ला जीवित रहेका थिए। त्यही चल्लालाई पालन गरेर शर्माले फर्मको सुरुवात गरेका हुन्।
प्रतिघण्टा ८० किलोमिटरसम्म दौडन सक्ने संसारकै ठूलो चरा अस्ट्रिच पालन नेपालमै पहिलो पटक गरेका शर्माले नेपालीहरुलाई अस्ट्रिचको मासुको स्वाद मात्र चखाएका छैनन्। रसियामा देखेको नौलो सपना नेपालमा आएर पुरा गरेका छन्।
उनले अस्ट्रिच पालन नेपालमा सम्भव छ भन्ने प्रमाणित पनि गरिसकेका छन्। उनी प्रेरणाको स्रोत पनि बनेका छन्।
२०६५ सालमा ३० करोड लगानी गरेर सुरु गरेको फर्ममा अहिले २ अर्बभन्दा बढीको लगानी भइसकेको छ। च्याउ र अस्ट्रिचमा गरी प्रत्यक्ष ४ सय जनाले रोजगार पाएका छन्।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा खण्डको मधवलियादेखि डेढ किलोमिटर पूर्व २२ विघा जग्गामा संचालित ‘अस्ट्रिच नेपाल प्रा. लि’ले अहिले दैनिक ३ केजी मात्र मासु बजारमा पठाउने गरेको छ।
‘लकडाउनका क्रममा सबै ठप्प भएपछि अस्ट्रिच घटे। अहिले पनि अस्ट्रिचको मासु बिक्रि गरेर जिउँदो अस्ट्रिचलाई बचाउने मात्र काम भएको छ। यता च्याउको आम्दानीले अस्ट्रिचलाई पनि हेर्नुपर्ने अवस्था छ,’ उनले भने।
कोभिडमा होटल क्षेत्र खुला नहुँदा अस्ट्रिचको मासु बिक्री निकै कम भएको उनले बताए।
उनले सुरुवाती समयमा अस्ट्रिच मासुको ७० प्रतिशत खपत होटल रेष्टुरेन्टमा हुने र उत्पादनको ३० प्रतिशत मात्र उपभोक्ताको घरमा जाने भए पनि अहिले भने पहिले जस्तो व्यापारमा बृद्धि नभएको बताए।
*शीर्षक सच्याइएको-प्रधानसम्पादक
साउन २, २०८० मंगलबार ०८:३९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।