कांग्रेस केन्द्रीय समितिको १० अजेण्डा, खाँणबारे छलफल टार्ने प्रयास

कांग्रेस केन्द्रीय समितिको १० अजेण्डा, खाँणबारे छलफल टार्ने प्रयास

काठमाडौं : मंगलबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको १० अजेण्डा तय भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले तोकेको अजेण्डामा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणबारे अजेण्डा छैन।

सोमबारको बैठकपछि सञ्चारकर्मीलाई महामन्त्री विश्वप्रकाश शर्माले दिएको जानकारीमा समसामयिक विषय राखिएको छ। यही अजेण्डामा खाँणबारे चर्चा भए छलफल सम्भव देखियो। अन्य अजेण्डा विषय केन्द्रित छन्।

बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिका, कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश गर्ने, पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका प्रस्ताव,विभाग गठनको प्रस्ताव, राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश रहेका छन्।

शर्माका अनुसार  बैठकमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने छन्। उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिबारे बैठकमा जानकारी गराउने छन्।

सोमबारको बैठकमा केन्द्रीय समितिको बैठक लाइभ गर्न पार्टी सभापतीले प्रस्ताव गरे पनि निर्णय भने भएको छैन।

साउन १, २०८० सोमबार २१:४९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।