बैङ्किङ कसुरको मुद्दा दोब्बर बढ्यो, एक वर्षमा ३५६ जनाले गरे आत्महत्या

बैङ्किङ कसुरको मुद्दा दोब्बर बढ्यो, एक वर्षमा ३५६ जनाले गरे आत्महत्या

काठमाडौँ : काठमाडौँमा बैङ्किङ कसुर सम्बन्धी मुद्दा झन्डै दोब्बरले बढेको छ। २०७८-०७९ मा वर्ष तीन हजार सात सय १५ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/०८० मा सङ्ख्या बढेर सात हजार एक सय १ पुगेको छ।

आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको विवरणमा काठमाडौँमा अधिकांश अपराधमा मुद्दा दर्ताको सङ्ख्या बढेकै देखिन्छ। चोरी,आत्महत्या, सवारी ज्यान, लागुऔषधका घटना बढेका छन् भने महिला तथा बालबालिका सम्बन्धी आपराधिक घटना र ठगीमा मुद्दा दर्ताको सङ्ख्या घटेको छ।

काठमाडौँ प्रहरीले वित्तीय क्षेत्रले वृद्धि गरेको व्याजको मिनाहा गर्नु पर्ने माग सहित (दुर्गा प्रसाईँ) लगायत असन्तुष्ट पक्षहरूले गर्ने विरोध प्रदर्शन, वित्तीय क्षेत्रहरूमा मन्द कारोबारका कारण राज्यकै आर्थिक गतिविधि सुस्ताएकोले त्यसबाट निम्तिएको समस्या, दिनप्रतिदिन बढ्दो बैङ्किङ कसुर सम्बन्धी जाहेरी, बैङ्क-सहकारी ठगी, हुन्डी, नक्कली  नोटको कारोबार, राजस्व अपचलन तथा ठगी, वैदेशिक रोजगारीमा ठगी, सुन तस्करी, बहुमूल्य पत्थर, जडीबुटी,जनावरका अवशेषको तस्करी लगायतका गतिविधीले आर्थिक क्षेत्रमा सुरक्षाको चुनौती बढाएको उल्लेख गरेको छ।

एक वर्षमा ३५६ जनाको आत्महत्या

एक वर्षभित्र काठमाडौँमा तीन सय ५६ जनाले आत्महत्या गरे। तीमध्ये १० जनाको उमेर १८ वर्षभन्दा कम छ। २५ वर्षभित्रका ५६ जनाले आत्महत्या गरे। आत्महत्या गर्नेमा २६ देखि ३५ उमेर समूहका धेरै छन्। यो उमेर समूहका १ सय २६ जनाले आत्महत्या गरेका थिए। यसै गरी ३६ देखि ४५ उमेर समूहका एक सय ११,४६ देखि ६० का ४८ र ६० माथिका पाँच जनाले आत्महत्या गरेका छन्।

साउन १, २०८० सोमबार १८:२१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।