सिद्धबाबा मन्दिरका सबै आर्थिक कारोबार अब डिजिटल प्रणालीबाट
बुटवल : पाल्पाको तिनाउ गाउँपालिका-३ मा रहेको सिद्धबाबा मन्दिर विकास समितिले अब सबै आर्थिक कारोबार डिजिटल प्रणालीबाट गर्न सुरू गरेको छ।
नयाँ आर्थिक वर्ष सुरू भएसँगै मन्दिरले सोमबारदेखि सबै कारोबार डिजिटल प्रणालीबाट गर्न सुरू गरेको हो।
केही दिनअघि बुटवल–३ मा रहेको सिद्धबाबा धाममा आर्थिक हिनामिना भएको घटना सार्वजनिक भएसँगै पाल्पाको सिद्धबाबा मन्दिरले आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्न सुरू गरेको हो।
सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले मन्दिर हुने १५ वटा विभिन्न शिर्षकको कारोबार अब डिजिटल माध्यमबाट गरिने बताए।
सुरूवातको समयमा एउटा कम्प्युटरबाट यो सेवा दिन थालेको भन्दै अध्यक्ष शेरचनले केही महिनामै दुई वटा कम्प्युटरबाट डिजिटल भुक्तानी रसिद भक्तजनलाई दिने बताए।
१ लाख ५० हजार खर्च गरेर डिजिटल भुक्तानी सुरू गरेको भन्दै उनले मन्दिरमा बढि भिडभाड हुने समयमा भक्तजनलाई केही असहजता हुने भए पनि समग्र आर्थिक पारदर्शिताका लागि यो काम अगाडि बढाइएको बताए।
‘हामीले परेवा, सवारी, विवाह, ब्रतबन्ध, ग्रहशान्ति, सहयोग, सटरभाडा, विजुली, रुद्री, लघु रुद्री लगायतका विभिन्न शिर्षकमा लाग्ने रकम डिजिटल भुक्तानी मार्फत लिन्छौँ’, उनले भने।
साउन १, २०८० सोमबार १७:५४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।