वीर अस्पताल र ट्रमा सेन्टरमा अब बिहान ८ बजेदेखि ओपीडी सेवा

वीर अस्पताल र ट्रमा सेन्टरमा अब बिहान ८ बजेदेखि ओपीडी सेवा

काठमाडौं : वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आज (साउन १) देखि ओपीडी सेवा बिहान ८ बजेदेखि सुरु भएको छ। यसअघि बिहान ९ बजेदेखि ओपीडी सेवा सञ्चालन हुँदै आएको थियो। 

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपीडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए। दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २ः३० बजेसम्म निर्धारण गरिएको छ।

वीर अस्पतालमा शल्यक्रिया सेवा पनि बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले  सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको जनाएको छ। अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन् । 

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बिहान ८ः१५ बजेदेखि ओपीडी सेवा सुरु गरिएको बताए।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषदको बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपीडी सेवा सुरु गर्ने निर्णय गरेको थियो।

साउन १, २०८० सोमबार १३:४५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।