भदौमा नेपाल इभि एक्सपो हुँदै
काठमाडौँ : विद्युतीय सवारी प्रवर्धन गर्न नेपाल इभी एक्सपोको आयोजना हुने भएको छ।
इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल, मिडिया स्पेस सोलुसनस र फ्युचरएक् ट्रेड फेर एन्ड इवेंट्स को संयुक्त आयोजनामा एक्सपो हुन लागेको हो।
काठमाडौँको भृकुटीमण्डपमा हुने एक्सपो भदौ १५ बाट तीन दिन चल्नेछ।
तीन दिन चल्ने एक्सपोमा एक सय बढी प्रतिष्ठित कम्पनी सहभागी हुने र एक सय ५० भन्दा धेरै ब्रान्डका गाडी तथा विद्युतीय सामग्रीहरू प्रदर्शनमा राखिने आयोजकले जनाएका छन्। एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा, विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू रहने छन्।
व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि प्रदर्शनी साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्ने आयोजकले बताएका छन्।
साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जानकारी दिएका छन्।
साउन १, २०८० सोमबार १३:४४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।