आजदेखि नयाँ आर्थिक वर्ष, मालसामानमा आयातकर्ता र वितरकको ‘लेबल’ अनिवार्य

आजदेखि नयाँ आर्थिक वर्ष, मालसामानमा आयातकर्ता र वितरकको ‘लेबल’ अनिवार्य

काठमाडौं : आज (साउन १) देखि नयाँ आर्थिक वर्ष सुरु भएको छ। सरकारले आज (सोमबार)देखि आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको ‘लेबल’ लगाउन अनिवार्य गरिएको छ।

भन्सार विभागले आयातित मालसामानको ‘लेबल’को दुरुपयोग नहोस् भनेर आजदेखि देशभर यो नियम कार्यान्वयनमा ल्याएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए। 

सरकारले आव २०८०/०८१ को आर्थिक ऐन (बजेट)को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा ४ मा साउन १ गतेपछि आयात हुने सम्पूर्ण तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने उल्लेख गरेको छ।

यदि कुनै आयातकर्ता र बजार वितरकले नियम उल्लङ्घन गरी मालसामान बिक्री वितरण गरेको पाइएमा अनुगमन निकायले सामान तत्काल जफत गर्ने कानुनी व्यवस्थासमेत रहेको उनले बताए। विभागले सो प्रावधानका बारेमा सरोकारवाला सबैमा सूचना गरिसकेको बताइएको छ।

विदेशी मालसामानको आयात गर्ने आयातकर्ता, बजार वितरक, उद्योग वाणिज्य सङ्घ, स्थानीय तह, प्रशासन लगायत सरोकारवाला निकायलाई वाणिज्य विभागको नयाँ व्यवस्थासम्बन्धी जानकारी यसअघि नै गराइसकेको छ।

आयातकर्ता एवं बजार वितरकले लेबल लगाएर पठाएको मालसामानको अभिलेख व्यवस्थित गरी राख्नुपर्ने र लेबलमा बार कोड, क्युआर कोड, सुरक्षा स्टिकर लगायतका आफ्नो पहिचान राख्न भनिएको छ।

आयातित मालसामान बिक्री वितरणका लागि बजार पठाउनुअघि गरिने प्याकिङमा आयातकर्ता र बजार वितरकले आफ्नो नाम, ठेगाना, इमेल ठेगाना, वेबसाइट र आयात निर्यात कोड अनिवार्य उल्लेख हुनुपर्ने व्यवस्थाले उपभोक्ता हितको संरक्षणमा मद्दत पुग्ने बताइएको छ।

साउन १, २०८० सोमबार १२:१६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।