देवघाटधाममा आज स्नान गर्नेको भीड, भोलिदेखि मलमास सुरु हुने भएकाले बोलबम मेला प्रभावित हुने

देवघाटधाममा आज स्नान गर्नेको भीड, भोलिदेखि मलमास सुरु हुने भएकाले बोलबम मेला प्रभावित हुने

भरतपुर : पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा आज स्नान गर्ने भक्तजनको भीड लागेको छ। साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो।

कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटमा हरेक वर्षको साउने संक्रान्तिमा बोलबम मेला लाग्ने गर्छ। साउने संक्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्व रहेको छ।

भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए। 

यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ। देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ।

मलमासमा कुनै कामना राखेर गरिने धार्मिक कार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो ।

देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक संघसंस्थाले आजको सोमबारबाहेक मलमास परेकाले साउनका अन्य सोमबार खासै महत्व नभएको बताएका छन्।

मलमास सुरु हुनु अगाडि असार र साउनको एक–एक सोमबार र मलमास सकिएपछि भदौको दुईवटा सोमबारमा दर्शन गर्न उत्तम हुने उनीहरूको सुझाव छ।
 

साउन १, २०८० सोमबार ०९:३९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।