लुम्बिनीमा संसदीय सभापतिहरू सर्वसम्मत रुपमा चयन गर्न दलहरू सहमत
बुटवल : लुम्बिनीमा गठन भएका संसदीय समितिका सभापतिको चयन दलहरुबीचको सहमतिका आधारमा गरिने भएको छ।
‘मिनी संसद’ मानिने संसदीय सभापतिहरू सर्वसम्मत रूपमा चयन गर्न लुम्बिनी प्रदेशका दलहरूबीच सहमति भएको हो।
शनिबार बसेको प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठकले ६ वटा विषयगत समिति गठनका लागि ७७ जना सांसदहरुको नाम सर्वसहमतिले अनुमोदन गरेको थियो।
लुम्बिनी प्रदेशमा प्रदेशसभाको सार्वजनिक लेखा समितिमा १२ जना, अर्थ उद्योग तथा पर्यटन समितिमा १२ जना, भौतिक पूर्वाधार विकास समितिमा १४ जना, प्रदेश मामिला तथा कानुन समितिमा १२ जना, सामाजिक विकास समितिमा १२ जना र कृषि वन तथा वातावरण समितिमा १५ जना सदस्य रहनेछन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमल्सिनाले सबै दलहरूको समेट्ने गरी सभापति चयन गर्ने विषयमा समझदारी भएको बताए। उनले प्रतिपक्ष एमालेलाई पनि २ वटा समितिको सभापति दिएर सर्वसम्मत रूपमा जाने गरी छलफल अगाडि बढेको जनाए।
माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले ६ वटा सभापतिमध्ये २ वटा एमालेलाई, सत्तामा रहेका साना दललाई १ र बाँकी ३ वटा काँग्रेस र माओवादीले बाँड्ने मोटामोटी सहमति भएको बताए।
एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले एमालेले ३ वटाको नेतृत्व दावी गरेको बताए। ‘नेतृत्वमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन, ठूलो दलको हिसाबले हामीले ३ वटामा दाबी स्वाभाविक हो,’ उनले भने।
कांग्रेसका प्रमुख सचेतक तिमल्सिनाले सदस्यहरूको नाम सहमतिमै टुंगो लगाएकाले सभापति पनि सहमतिमै टुंगाउने बताए ।
उनका अनुसार ६ समितिको नेतृत्वमा २ विपक्षी एमालेलाई, ३ कांग्रेस र माओवादीलाई र १ सत्तामा सहभागी साना दलबाट दिनेगरी सहमति हुनसक्ने छ।
प्रदेश सभाको बैठक साउन ८ गतेलाई तोकिएको छ।
साउन १, २०८० सोमबार ०८:३६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।