लागू भयो पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली, खाना पकाउने ग्यासमा नाफा नराखिने

लागू भयो पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली, खाना पकाउने ग्यासमा नाफा नराखिने

काठामाडौँ : सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ।

मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आम उपभोक्ताको हितलाई ध्यान दिएर पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको बताए।

निगमको आज बसेको सञ्चालक समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव मरासिनीले निगमको यो निर्णयबाट जनता र व्यवसायीलाई सहुलियत मिल्ने बताए।

हवाई इन्धनको हकमा साबिक बमोजिमकै व्यवस्था रहेको छ। अब उप्रान्त इन्डियन आयल कोर्पोरेसनबाट प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ।

यो निर्णयबाट इन्डियन आयल कर्पोरेसनसँग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुनेछ।

सचिव मरासिनीका अनुसार सरकारले खाना पकाउने एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने भएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ मुनाफा थियो।

आम उपभोक्तालाई मध्यनजर गरेर हाललाई यो पनि घटाइएको छ। त्यस्तै डिजेलमा दुई र पेट्रोलमा साढे दुई प्रतिशत नाफा राख्ने निर्णय गरिएको छ।

असार ३१, २०८० आइतबार २०:४४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।