सारुकको मृत्युबारे सत्यतत्य छानबिन गरि बाहिर ल्याउन कलाकार संघको माग

सारुकको मृत्युबारे सत्यतत्य छानबिन गरि बाहिर ल्याउन कलाकार संघको माग

काठमाडौं : नेपाल चलचित्र कलाकार संघले सदस्य समेत रहेका अभिनेता सारुक ताम्राकारको मृत्युको सत्यतत्य छानबिन गर्न माग गरेको छ।

आइतबार बसेको कार्यसमितिको बैठकले यस्तो माग गरेको हो। 

अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा पछिल्लो समय आएका अभिव्यक्तिको छानबिन गरी कोही दोषी देखिए सत्यतथ्य उजागर गरी कानुनको दायरामा ल्याउन माग गरिएको छ। 

एक साता यता ताम्राकारको निधनलाई लिएर सामाजिक सञ्जालमार्फत केही कलाकारले माग गर्दै आएका थिए भने शनिबार फिल्मका निर्देशक राजीव गुरुङले आफ्ना भनाइ राखेका थिए। 

‘ह्यासट्याग माया’को सुटिङ गरिरहेका सारुक गत असार २१ गते राति ज्ञानेश्वर स्थित आफ्नै घरमा मृत भेटिएका थिए।

उनको मृत्युपछि आफन्तले मालीगाउँ प्रहरी वृत्तमा घटनाको यथार्थ पत्ता लगाउन माग गर्दै निवेदन समेत दिएका थिए।

अहिले प्रहरीले सारुकले प्रयोग गर्दै आएको मोबाइल समेत अनुसन्धानका लागि लिएको छ।  

पूर्वकलाकार संघका अध्यक्ष तथा अभिनेता सानुकुमार ताम्राकारका छोरासमेत रहेका सारुकले 'रानी', 'मेरी मामु' र 'इन्टुमिन्टु लण्डन'लगायत थुप्रै फिल्म तथा सर्ट फिल्ममा काम गरेका छन्।

असार ३१, २०८० आइतबार २०:३८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।