'विधेयक अघि बढेर कानुन निर्माण भए राजनीतिक आवरणमा सडकमा श्रृंखलाबद्ध हत्या हुन्छ'

'विधेयक अघि बढेर कानुन निर्माण भए राजनीतिक आवरणमा सडकमा श्रृंखलाबद्ध हत्या हुन्छ'
फाइल तस्वीर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ अघि बढाए राजनीतिक आवरणमा सडकमा श्रृंखलाबद्ध हत्या हुने बताएका छन्। 

यो विधेयक पास भए नेपाल अफ्रिकाभन्दा पनि पछाडि धकेलिने उनले बताए। 

उक्त विधेयक संसदमा अघि बढाउने विषयमाथि विरोधको सूचना दर्ता गराएका सांसद शाहीले सो विधेयक अघि बढेर कानुन निर्माणप्रति आपत्ति जनाएका हुन्। 

उनले भने, ‘सडकको किनारमा मान्छेको हत्या हुन्छ, मान्छेलाई मारिन्छ, त्यसपछि त्यहाँ राजनीतिक पर्चा छोडिन्छ र त्यहाँ के लेखिन्छ भने क्रान्तिका लागि, हलानाका लागि, फलनाका लागि भनेर लेखिन्छ। अनि त्यो पर्चाका आधारमा सरकारले ओहो यिनीहरू त राजनीतिक दलहरू हुन भनेर उन्मुक्ति दिन्छ। यदि भोलि यो परम्परा यो देशमा बस्यो भने यही संसदमा हामी माननीयको जीवन रहन्छ कि रहँदैन ?’

अहिले अफगानिस्तानका बीच बजारमा बम पड्किएको जस्तै नेपालमा भोलि बम पड्किन सुरु हुने सांसद शाहीले बताए।

 ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ मा फौजदारीसम्बन्धी कसुरमा राजनीतिक प्रकृतिको भए सरकारले मुद्दा फिर्ता लिनेसम्बन्धी कानुनी व्यवस्था प्रस्ताव गरिएको छ।

यसैबीच प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित गरिएको छ। रास्वपा र राप्रपाले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटलाई सदन स्थगित गरेका हुन्। 

असार ३१, २०८० आइतबार १६:४४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।